गलेश्वर । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन अझै छ ।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ ।
कसैले गाउँभेलाबाट पारित भएको नियम उल्लङ्घन गरेर आँफूखुसी मूल्य निर्धारण गरी खरिद विक्री गरे गाउँलेहरुले कारबाही गर्ने गर्दछन् ।
हरेक वर्षको माघेसङ्क्रान्तिका दिन गाउँलेको भेलाले अर्को वर्षको माघेसङ्क्रान्तिसम्मका लागि गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी–मजदूरको ज्याला निर्धारण गर्ने गर्छ ।
गाउँ भेलाले पारित गरेको उक्त निर्णय विपरीत आफूखुशी गर्नेलाई सामाजिक बहिष्कारसम्मको कारबाही हुने गरेको सोही वडाका अगुवा तबहादुर शेरपुर्जाले बताए ।
यस वर्षको माघे सङ्क्रान्तिमा पनि गाउँलेको भेलाले खाद्यवस्तुको भाउ र ज्याला मजदूरी गर्नेको ज्याला निर्धारण गरेको वडासदस्य धनबहादुर गर्वुजाले जानकारी दिए । उनका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी १ सय ५० रुपैयाँ, कोदो र धान २ सय रुपैयाँ, जौ १ सय ५० रुपैयाँ,गहुँ र उवा २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यसैगरी भटमास प्रतिपाथी ४ सय रुपैयाँ , फापर १ सय ५० रुपैयाँ, सिमी ६ सय रुपैयाँ, आलु र पीडालुरु १ सय ५० रुपैयाँ का साथै बेसार प्रतिमाना १ सय ५० रुपैयाँ र रक्सी जम्बो बोतललाई १ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति ७ सय, हल गोरु ज्याला एक हजार, साधारण खेताला ज्याला ५ सय रुपैयाँ , इलेक्ट्रिसियन ज्याला ८ सय रुपैयाँ, सिकर्मी ज्याला ८ सय रुपैयाँ, सिमेण्ट प्लाष्टर प्रतिव्यक्ति ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै लोकल मह र घिउ प्रतिमाना ६ सय रुपैयाँ र दाउरा काट्ने खेतालाको ज्याला ५ सय रुपैयाँ निर्धारण गरिएको वडासदस्य गर्बुजाले बताए । गाउँमा उत्पादन हुने र बाहिरबाट आयत गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी भएको वडाअध्यक्ष रुकबहादुर गर्वुजाको भनाइ थियो ।
Comments are closed.