फेदीखोला–२ काे घर घरमा धारा

वालिङ । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १ सय ६६ घरधुरीका ८ सय जना प्रत्यक्ष लाभान्वित भएका छन् । वडाध्यक्ष हिमालयजङ्ग बानियाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त  एक करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४ सय २५ जना लाभान्वित भएका छन् भने सङ्घीय सरकारबाट प्राप्त ९५ लाख ४८ हजार ५ सय १३ को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३ सय ७५ लाभान्वित भएका छन् ।

यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समिति अध्यक्ष बमबहादुर गुरुङले बताए ।

उनका अनुसार उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका–२ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गेडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मतका लागि मासिकरुपमा ५० रुपैयाँ सङ्कलन गर्न थालिएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

लिफ्टिङबाट वडा नं २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले बताए ।“गाउँभन्दा करिब एकसय मिटर तल रहेको ठूलाधारा मुहानबाट पिठ्यूँमा पानी बोकेर ल्याउनुुपर्ने बाध्यता रहेको थियो” उनले भने, “अहिले घरघरमै पानीको धारा जडान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जिवनमा परिवर्तन आएको छ ।”

घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने समितिका अध्यक्ष सुवेदीको भनाइ थियो ।

You might also like

Comments are closed.