ध्रुबसागर शर्मा, गलेश्वर । युवाहरु युग परिवर्तनका मेरुदण्ड हुन् । देशको आर्थिक, सामाजिक, राजनीतिक तथा शासकीय पद्धति रूपान्तरणका प्रक्रियामा युवाको भूमिकालाई उच्च महत्व दिँदै आएको पाइन्छ ।
युगानुकूल भविष्यको परिवर्तनका भरपर्दा आधार नै सक्षम युवा भएकाले जिल्लामा हुने विकास निर्माणका काममा उनीहरुको सहभागिता बढ्दै गएको छ । युवाहरुको सहभागिताले विकास निर्माणका योजना पनि समयमै सम्पन्न हुन थालेका छन् भने समुदायप्रति जवाफदेही हुनुपर्ने भएकाले काममा पनि गुणस्तर देखिन थालेको छ ।
बाहिरका कामदार ल्याएर विकास निर्माणका काम गराउँदा समयमै योजना सम्पन्न नहुने र बाहिरका कामदार समुदायप्रति जवाफदेही पनि हुनु नपर्ने भएकाले सम्पन्न भएका अधिकांश योजना गुणस्तरहीन हुने गरेको थियो । स्थानीय युवा नै विकास निर्माणका काममा सहभागिता जनाएपछि यस्ता समस्या न्यूनीकरण हुँदै गएका छन् ।
विगत दुई वर्षयता कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएका युवा अहिले गाउँघरमै हुने विकास निर्माणका योजनामा धमाधम काम गरिरहेका छन् । स्थानीय तहले पनि विदेशबाट फर्केका स्थानीय युवालाई गाउँमा हुने विकास निर्माणका काममा पहिलो प्राथमिकता दिएपछि उनीहरुलाई सहज भएको हो । चालु आर्थिक वर्ष अन्त्य हुने समय तीन महिना बाँकी रहँदा जिल्लाका ग्रामीण भेगमा स्थानीय तहका योजना धमाधम निर्माण भइरहेका छन् । त्यसका साथै सङ्घ र प्रदेशका योजनामा पनि युवाले धमाधम काम गरिरहेका छन् ।
गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेपछि बाहिरबाट मजदूर ल्याउनुपर्ने बाध्यता पनि हटेको छ । गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण वडास्तरमा रोजगारी सिर्जना हुन थालेको छ । गाउँकै युवा विकास निर्माणमा जुट्दा योजना निर्माण र कार्यान्वयन गर्न सहज भएको रघुगङ्गा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताए । उनले भने, “आफ्नो गाउँमा निर्माण हुने विकासका योजनामा स्थानीय युवाको नै संलग्नता भयो भने योजना सम्पन्न गर्न, कार्यान्वयन गराउन र जिम्मेवारी दिन धेरै सजिलो हुँदोरहेछ ।”
स्थानीय युवाको संलग्नतामा दग्नाममका ९ वटा योजना निर्धारित समयभन्दा पहिला नै सम्पन्न भएको बताइएको छ । वडामा भित्रिएका विकास योजनाले गाउँमा रोजगारी सिर्जना भएको र युवा दैनिक रुपमा काम गर्न थालेको उनले बताए । “कतारबाट फर्केको दुई वर्ष भयो, कोरोना भाइरस सङ्क्रमणका कारण फर्केर कतार जान नसकेपछि गाउँमै काम गर्न थालें, अहिले यही बसेर गरेको कामबाट सन्तुष्ट छु ।” रघुगङ्गा गाउँपालिका– १ का सोनाम विकले भनिन्, “गाउँमा हुने विकास निर्माणका योजनाले गाउँको विकास पनि भएको छ र हामीजस्ता युवाले रोजगारी पनि पाएका छौं ।”
पालिकाबाट विनियोजन हुने बजेटका योजनामा मात्रै होइन, जलविद्युत् र सडकलगायत ठूला विकास निर्माणका योजनामा पनि विदेशबाट फर्केर आएका युवाको संलग्नता बढेको छ । एकातिर युवाहरुले रोजगारी पाएका छन् भने अर्कातिर गाउँमा आएको पैसा बाहिरिने दरमा पनि कमी आएको छ । विकास निर्माणका योजनामा स्थानीय युवाको सहभागिता बढेपछि जनप्रतिनिधिलाई पनि निकै सजिलो भएको रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलबहादुर फगामीले बताए । युवाले काम गर्न थालेपछि योजना कार्यान्वयनमा सहजता भएको उनको भनाइ छ ।
विकास योजनाका कारण गाउँमा बेरोजगारीको समस्यामा समेत कमी आएको स्थानीयवासी बताउँछन् । पहिला पहिला काम खोज्न सहरबजारतिर धाउनुपर्ने बाध्यता रहेकोमा आजभोलि गाउँमै सञ्चालन भएका विकास आयोजनामा काम गर्न भ्याइनभ्याइ भएको बेनी नगरपालिका–२ बगरफाँटका विदुर किसानले बताए ।
कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवाले योजनाको जिम्मा लिएर काम गर्न थालेपछि कामको गुणस्तरसमेत राम्रो भएको र समयमा नै योजना सम्पन्न भएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष हीराबहादुर थापाले बताए ।
Comments are closed.