निकुञ्ज घुम्ने पर्यटकको संख्या उल्लेख्य

चितवन । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ । यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २ सय ५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्या ९२ हजार २सय ९ मात्रै थियो । त्यस्तै आव २०७६/७७ मा एक लाख ८२ हजार ४ सय ३५ व्यक्तिले भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो आठ महिनामा विदेशी पाँच हजार ३ सय ९४ मध्ये दुई हजार ५ सय ४० महिला र दुई हजार ८ सय ५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका चार हजार ८ सय ६५ जना थिए ।आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ । चालु आवको आठ महिनामा ९७ हजार ८ सय ९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८ सय ८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६ सय ६७ आन्तरिक पर्यटक रहेका उनले जानकारी दिए । पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २ सय ५४ पर्यटकमध्ये ५३ हजार ८ सय ९ महिला र ५४ हजार ४ सय ४५ पुरुष रहेका छन् ।

गत आवमा एक हजार ३ सय ६४ व्यक्ति सार्क मुलुकका र एक हजार २ सय ४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताए । गत आवमा कोरोना सङ्क्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९ सय ६८ महिला तथा ५१ हजार ६ सय ३३ पुरुष पुगेका थिए । त्यस्तै सार्कबाट ५ सय ४९ महिला र ८ सय १५ पुरुष तथा विदेशी मलुकबाट ५ सय ६२ महिला र ६ सय ८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए । पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुङ्गा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

You might also like

Comments are closed.