आर्थिक आवाज
तनहुँ,२१ पुस
तनहुँको आँबुखैरेनीमा आदिवासी जनजाति सांस्कृतिक महोत्व २०७५ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषदले माघ १७ गतेदेखि २७ गतेसम्म महोत्सव सञ्चालन गर्ने भएको हो ।
‘अमूल्य भाषा, संस्कार र संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासी जनजातिको अभियान’ भन्ने नाराका महोत्सव हुने भएको नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष रेशम भुजेलले जानकारी दिए ।
आदिवासी जनजातिको संस्कृति र पहिचानको संरक्षणका लागि सांस्कृतिक भवन निर्माणका लागि महोत्सव आयोजना गरिने भएको भुजेलले बताए ।
स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृतिको उत्थान गर्न महोत्सव सफल हुने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको विश्वास छ । फुर्सदिलो समय र मौसमको अनुकुलताले पनि महोत्सव सफल हुने अपेक्षा थापाको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले आदिवासी जनजातिसँगै सबै जातिलाई अपनत्व हुने गरी महोत्सव सञ्चालन हुने बताइन् ।
आँबुखैरेनी–३ मिलनचोकमा हुने महोत्सवमा १ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ । महोत्सवमा कृषि, हस्तकला, गरी २० वटा र १८० व्यापारिक गरी २ सय वटा स्टल रहनेछ । महोत्सवमा ५ जातिको नमूना घर, विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने नेपाल सचिव मिलन भुजेलले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
Comments are closed.