लुम्बिनी । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणालीलाई थप परिस्कृत बनाएको छ ।
अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।
यसले विरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ । उक्त स्वास्थ्य सुचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस-२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ ।
स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आबद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ ।
बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सुचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ ।
यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दावी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुनेछ ।
त्यसैगरी, डिएचआइएस-२ इन्टिग्रेसनले अब अस्पताल सुचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणाली मार्फत डिएचआइएस-२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ ।
यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआइएस -२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्रि गर्नु पर्ने छैन ।
अस्पतालले विरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ ।
यस मार्फत विरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइल वालेट मार्फत् घरमै बसि अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भूक्तानी गर्न सक्नेछन् र साथसाथै विरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसि अनलाइनमार्फत् हेर्न सक्नेछन् ।
यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो ।
Comments are closed.