कार्यपालिका बैठक छिम्केश्वरीमा

दमौली । जिल्लाको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक बसेको छ । । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको कार्यपालिका बैठक शुक्रबार यहाँ बसेको हो  ।

प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको सो ठाउँको प्रचारप्रसारका लागि कार्यपालिका बैठक छिम्केश्वरी माईको प्राङ्गणमा आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । “तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्केश्वरी पर्यटन र धार्मिक हिसाबले निकै महत्वपूर्ण छ, यसकै प्रचारप्रसारका लागि पहिलो पटक कार्यालयभन्दा बाहिर कार्यपालिका बैठक बस्दैछ”, उनले भने ।

समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साहिँली गोरखकालीमाई, काहिँली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरी मन्दिर पुग्नका गत वर्ष प्रदेश सरकारको सहयोगमा ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ । रु ४० लाखको लागतमा मन्दिरसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको हो । गाउँपालिकाले लाब्दीदेखि केही माथिसम्म गत वर्ष नै बाटासमेत विस्तार गरेको छ । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करीब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ ।

You might also like

Comments are closed.