बलेवा । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २ सय ३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।
बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २ सय जना किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ । अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो । प्रतिपाडापाडी १० हजार रूपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ ।
त्यस्तै मासुकै उत्पादनको लागि १ सय किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा रु छ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले चार हजार ३ सय रूपैयाँका दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बङ्गुरपालन गरेका ३६ किसानलाई छ हजार रूपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।
माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च १० हजार र नयाँ पोखरीका लागी २५ हजार रूपैयाँका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए । किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए ।
बागलुङ नगरपालिकाको १० लाख र नेपाल सरकारको थप १५ लाख गरी नगरले एकैपटक रु २५ लाख किसानको हातमा पु¥याएको हो । “पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछाैँ”, उनले भने, “अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौँ ।” अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए ।
Comments are closed.