मलाई साह्रै गाह्रो भयो, भान्जासँग अक्सिजन मगाएँ

अर्जुन पोखरेल

चीनको वुहानबाट शुरु भएको कोरोना नेपालमा पनि पहिलो संक्रमित देखिएको करिब १० महिना पुगिसक्यो । यो बीचमा देशमा कोरोना, भोकमरी, डर अनि मानसिक तनाबले हजारौं नागरिकले ज्यान गुमाउन पुगे । आज दिन दुई गुना, रात चारगुना संक्रमित बढ्दै छन् र मृत्यु हुनेको संख्या यही गतिमा बढिरहेको छ ।

म एउटा व्यवसायी अनी निजी क्षेत्रको प्रतिनिधि पनि । साथै सक्दो अन्य सामाजिक कार्यमा पनि रुचि राख्ने स्वभाव । निजी क्षेत्रको प्रतिनिधि मलाई लामो समयको लकडाउनले उद्योगी व्यवसायीका घरभाडा, बैंकको किस्ता अनि ब्याज, कर्मचारिको तलब, सरकारलाई कर आदि समस्यालाई टुलुटुलु हेरेर बस्न मनले मान्ने कुरै भएन । हामीले लामो समयसम्म लकडाउन गर्नु हुँदैन, कोरोना नियन्त्रणको उपाय लकडाउन मात्र हैन भन्ने हामीलाई लाग्थ्यो । ठुला अर्थतन्त्र भएका राष्ट्रहरुले पनि लकडाउन लामो समय गरेनन् र कोरोनासंग लड्दै, जुद्धै अर्थतन्त्रलाई अगाडि बढाई रहेका छन् । तर, हामी नेपालीहरु सरकारको अकरमन्ड्यताले यो मामलामा चुक्यौं । फलस्वरुप हामी धेरै पछाडि पर्दै गइरहेका छौं । हाम्रो अर्थतन्त्र धेरै पछाडि धकेलिएको छ । हामी उद्योगी व्यवसायी उठ्नै नसक्ने गरी थला परेका छौं । कोरोनासंग जुद्धै अगाडि बढ्नु पर्छ भन्ने मेरो पनि शुरुदेखिकै मान्यता हो ।

करिब १० महिनाको समयमा मैले यस विषयमा लेख, रचना, स्टाटस, टुइट र सामाजिक सञ्जालमा आफ्ना विचार लेख्दै रहेँ । सकेको सचेतना फैलाउन आफ्नो विवेक प्रयोग गर्दै गरेँ । कतिले यसलाई सकारात्मक र कतिले नकारात्मक टिप्पणी गर्नुभयो । सकारात्मक टिप्पणि गर्नेलाई यसै लेखमार्फत साधुवाद र नकारात्मक टिप्पणिलाई सिकाईको रुपमा ग्रहण गरेको छु । कसैप्रति मेरो दुरभाव हिजो थिएन, आज छैन र भोलि पनि रहने छैन । ढिलो चाडो धेरैलाई कोरोना हुन्छ भन्ने मेरो शुरुदेखि कै मान्यता हो । किनभने कोरोना नियन्त्रणमा सरकारको तयारी, हामी नागरिकका कमजोरीले गर्दा नै यो अवस्था आउँछ भन्ने लागेकै थियो ।

सानो तिनो व्यवसाय, व्यावसायिक संगठनको पदीय जिम्मेवारी, सामाजिक कार्यमा रुची साथसाथै आफ्ना घरायासी कामकाजको लागि पनि सधैं घरमा नै बस्न मलाई सम्भव थिएन । अरु धेरैलाई पनि छैन । सकेको सावधानी अपनाउँथे, सचेत थिएँ । बिगत २५ वर्षदेखि कुनै न कुनै निरन्तर शारिरीक व्यायम गर्थेँ, खानपान सरसफाईमा सचेत नै थिएँ । तर, त्यसका बाबजुद पनि म संक्रमित हुन पुगेँ ।

गत कात्तिक ७ गतेका दिन मलाई राति छटपटी हुने, निन्द्रा नलाग्ने भयो । त्यो रात बित्यो । भोलि पल्ट दशैंको अष्टमीको दिन चाडबाड मनाउन पर्ने । यसको तयारी गर्नैपथ्र्यो । यो संक्रमणको बेला आफूलाई चाडबाडको रौनक त्यति नभए पनि घरमा साना छोरी, छोरा, आमा, श्रीमती अनि भाइ, बुहारी, भतिजा, इष्टमित्रको खुसीका लागि पनि रमाइलो गर्नु नै प¥यो । खसी काट्ने, बच्चाहरुलाई नयाँ कपडा किन्ने, घरमा आवश्यक सामान किन्ने आदि हाम्रा चलन नै हुन् । त्यस दिन आफ्ना यीनै कामहरुमा व्यस्त भएँ । शरिरमा असजिलो महसुस भएकै थियो । तर, आफ्नो काम गर्नुको विकल्प थिएन । बेलुका ४ बजेतिर मलाई काम ज्वरो आयो । नापेँ १०३ रहेछ । मनमनै सोचे मलाई युरिनको समस्या पहिलेबाट नै थियो यसै कारणले होला भन्ने लाग्यो । सिटामोल खाएर सुतेँ । केही समय पछि केही हल्का महसुस भयो र घरमा सबैलाई जानकारी गराएँ ।

त्यसै समयबाट म छुट्टै कोठामा बस्न शुरु गरेँ । नवमीको दिनमा पनि हल्का ज्वरो आउने, टाउको दुख्ने भइनै रह्यो । दशमीको दिन पनि त्यही दोहोरियो । आमासंग सल्लाह गरेँ, अहिले अवस्था यस्तो छ, मलाई गार्हो भएको छ, यो कोरोनाको सिम्टम्स पनि हुन सक्छ । म तल टीका लगाउन झर्दिन भनेँ । पछि आमा रुन थाल्नुभयो । तर, श्रीमती भाइ बुहारीले भने पछि आमा मान्नुभयो । त्यो दिन त्यसरी बित्यो । घरमा खासै धेरै आफन्तहरु टीका लगाउन आउनु भएन । पहिले नै घर परिवार इष्टमित्रमा यो कुरा गरेका थियौँ की यो पटक कोरोनाका कारण घरघरमा मात्र टीका लगाउने ।

दशैंको भोलिपल्ट पनि पहिलेको जस्तै सिम्टम्स थियो । तर, दशैंको तेस्रो दिनबाट मलाई बढी पीडा हुन थाल्यो । ज्वरो १०२, छाति दुख्ने, टाउको दुख्ने, शरिर दुख्ने, सुख्खा खोकी लाग्ने, सास फेर्न गार्हो हुने आदि । त्यसपछि मलाई डर लाग्न लाग्यो की मलाई कोरोना संक्रमण नै भयो भनेर । लगत्तै मैले डाक्टर वसन्त ताम्रकारलाई फोन गरेँ । उहाँसँग मैले स्वास्थ्यमा समस्या पर्दा लामो समयदेखि परामर्श लिने गर्थेँ । हामी एउटै क्लबको भएकाले धेरै सहज पनि थियो । उहाँले मलाई तुरुन्त फिस्टेल अस्पताल बोलाउनुभयो । त्यहाँ मेरो छातिको एक्सरे, रगत जाँच गराउनुभयो । रिपोर्टमा मेरो फोक्सोमा संक्रमण भएको रहेछ । उहाँले केही औषधी र अन्य उपायहरु बताइदिनुभयो । त्यसपछि मलाई मनमा धेरै कुरा खेल्यो कि फोक्सोमा समस्या देखिएमा कोरोना संक्रमणले धेरै गाह्रो बनाउँछ भन्ने । त्यसपछि मलाई पिसीआर परीक्षण गर्नुपर्छ भन्ने लाग्यो । महानगरमा फोन गरि आफ्नो नाम टिपाएँ । भोलिपल्ट शुक्रबार परीक्षण गराएँ । त्यसको पर्सिपल्ट महानगरबाट फोन आयो र पिसिआर पोजेटिभ आएको जानकारी प्राप्त भयो ।

मलाई कोरोना संक्रमण भएको छ जस्तो पहिले नै लागेको थियो । त्यसैले म धेरै आत्तिइन, तर मलाई त्यो बेला गार्हो भयो कि यो कुरा म आमालाई कसरी भनौं ? तर, सुरुबाट नै मैले आमालाई मलाई कोरोना भएको छ भन्ने गर्थेँ । ताकि भोलि मलाई संक्रमण भएपनि भन्न सजिलो होस् भन्ने मनसाय मेरो थियो । आमालाई भनेँ, आमा रुन थाल्नुभयो । टाढैबाट सम्झाएँ । ढिलो चाडो सबैलाई हुन्छ, मलाई स्वास्थ्यमा समस्या छैन भनेर सम्झाउने कोशिस गरेँ । बच्चाहरुलाई पनि सुरक्षित राख्न आग्रह गरेँ । आफू सचेत नागरिक र शुरुबाट नै कोरोनालाई लुकाउन हुँदैन र लुकाउदा लक्षण नभएका संक्रमितले अन्यलाई संक्रमण फैलाएर ज्यान नै तलमाथि पनि हुन सक्ने भावनाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएँ । ताकि मसंग नजिक भएकाहरुलाई सुरक्षित रहन र केहि हदसम्म भएपनि संक्रमण फैलिनबाट रोकियोस् भन्ने उद्देश्य थियो ।

त्यस पश्चात मलाई मेरा धेरै शुभचिन्तकहरुको फोन, एसएमएस, स्वास्थ लाभको कामनाहरु आउन थाले । म सम्पूर्ण मेरा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कोरोना परास्त गर्न यी आशिर्वादहरुले मलाई ठुलो हौसला मिलेको छ । म कसैको फोन उठाउन सक्ने अवस्थामा थिइन । त्यसका लागि क्षमा चाहन्छु । मलाई निकै गार्हो भएको थियो । डाक्टर वसन्तलाई फोन गरेर कोरोना भएको जानकारी गराएँ । उहाँले म केही औषधी पठाइदिन्छु त्यो प्रयोग गर्नुस्, घरमा नै बस्नोस्, नआत्तिनुस्, केहि गार्हो भयो भने फोन गर्नुस् भन्नुभयो ।

मैले सोचे अब अस्पताल जादा घरमा धेरै समस्या पर्छ जस्तो लाग्यो । अब घरमा नै बस्नुपर्छ भनि आवश्यक सामग्री जुटाउनतर्फ लागेँ । भान्जा नरेश बराललाई फोन गरी अक्सिजन मगाएँ । अक्सिजनको मात्रा मापन गर्नका लागि अक्सोमिटर लगायतका सामग्री व्यवस्था गरेँ । त्यो रातबाट मलाई यति गार्हो भयोकि स्वास फेर्न गार्हो हुने, सुख्खा खोकी, ज्वरो, पैतला पोल्ने, आँखा पोल्ने, मुख सुक्ने अक्सिजनको मात्रा ९० सम्म पुग्ने हुन्थ्यो । सुत्न खोज्यो छातिमा शिल्का हान्ने र सुत्नै नसक्ने हुन्थ्यो । ३ रात पटक्कै सुत्न सकिन । कुनैकुनै बेला त म हरेस खाइसकेको थिएँ । तर, फेरी आमा, साना छोराछोरी, परिवार अनि आफ्नो जिम्मेवारी सम्झन्थेँ । र, धैर्य गर्थेँ, आत्मबल बढाउथेँ । आमाले भुई तलाबाट फोन गर्नुहुन्थ्यो, म बोल्न सक्ने अवस्थामा थिइन, तर ठीक छ, चिन्ता नलिनुस् आमा भन्थे । मलाई पीडा भएको आमाले सहन सक्नु हुन्न भन्ने थाहा थियो । आमाले प्रेसर लगायत अन्य दीर्घ रोगका ३, ४ थरी औषधी प्रयोग गर्ने कारण भोलि आमालाई तलमाथि हुन्छ कि भन्ने सोच्थे । यो अवस्थाबाट आमालाई जोगाउन मैले कोरोना परास्त गर्नु नै थियो । त्यसैले मैले हिम्मत हारिन अक्सिजनको लेबल बढाउन पानीको बोत्तल फुक्ने, बेलुन फुक्ने र श्वास प्रश्वासको मात्रा बढाउने कसरत गर्दै गरेँ । आफै अक्सिजन प्रयोग गर्थेँ । ३ दिनसम्म मलाई अति नै गार्हो भएको थियो । तथापि मैले खाने कुरा कुनै दिन पनि खान छोडिन । यसरी ३ दिनको कष्ट पश्चात १२औं दिनको साँझबाट मलाई अली हल्का महसुस भयो । ज्वरो र टाउको, छाती दुखाई कम हुँदै गयो । शुरुको दिनबाट नै मैले बाफ लिने, योग गर्ने, ध्यान गर्ने, संगीत सुन्ने, शदगुरुका प्रवचन सुन्ने, सिनेमा हेर्ने, घाममा बस्ने, तातो तरल पदार्थ खाने औषधी, भिटामिन सि, डी खाने र घरेलु विधिहरु पनि अपनाइ नै रहेँ ।

२२औं दिनमा आइपुग्दा मलाई हल्का खोकी लागेको, कमजोर महशुस भयको छ र अन्य कुनै लक्षण छैन । मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मेरो अनुभव के रह्यो भने कोरोनालाई दीर्घ रोगी, बाल बच्चा, प्रौढ, धेरैले जितेका छन्् । तथापि, यसले लक्का जवानहरुलाई पनि मृत्युको मुखमा पु¥याएको छ । तपाईंलाई स्वास्थ्यमा कुनै समस्या छैन, तर तपाईंको फोक्सोमा संक्रमण छ, चिसो लागेको छ भने यसले तलमाथि पनि पार्न सक्दोरहेछ भन्ने लाग्यो । कोरोनाले मानिसको स्वास्थ्य अवस्था अनुसार फरकफरक तरिकाले असर गर्ने रहेछ । त्यसैले कोरोनालाई सामान्य रुपमा नलिनका लागि म हार्दिक अनुरोध गर्दछु ।

जसलाई चिसो लागेको छ, छाति र फोक्सोमा संक्रमण छ त्यस्ता व्यक्तिहरु धेरै सावधान रहन जरुरी छ । आगामी दिनहरु चिसो बढ्ने मौसम छ । साथमा कोरोना पनि बढिरहेको छ । संक्रमणले सानो ठुलो, धनि गरिब, बच्चा प्रौढ, वयश्क कोही कसैलाई छोडेको छैन । त्यसैले सावधानी अपनाउँ । भौतिक दुरी कायम गरौं, भिडभाडमा नजाऔं । चिसोबाट बच्ने उपाय अवलम्वन गरौं । सकारात्मक सोच राखौं र आत्मबल बढाऔं । खोप सम्वन्धी सकारात्मक समाचारहरू आएका छन्, धैर्य गरौं । मैले मात्र कोरोना परास्त गरेर हुँदैन, मेरो घर, छिमेकी, इष्टमित्र, देश र सारा विश्वलाई नै यो महासंकटबाट छिटो छुटकारा मिलोस्, भगवानसंग यही प्रार्थना गर्दछु । कसैलाई संक्रमण नहोस् । संक्रमितहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछु । मेरो नेगेटिभ रिपोर्ट आएको छ । मेरो ‘ओ पोजेटिभ’ प्लाज्मा दान गर्न चाहन्छु । यसले कसैको जीवन रक्षाका लागि काम गरोस्, भगवानसंग प्रार्थना गर्दछु !

सुरक्षित हुँदै कोरोनासँगसँगै जुद्धै अगाडि बढौं । बाँच्ने आधार अर्थतन्त्रलाई चलायमान बनाऔं । कोरोनालाई नलुकाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं । धन्यवाद ।

(पोखरेल निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संँघका महासचिव हुन् )

Nova computer
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...