बैंकिङ व्यवसायलाई उद्यमशीलताको भर

रिसव गौतम
अरु व्यवसाय जस्तो बैंकिङ संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बैंकिङका नयाँ–नयाँ अवधारणा लागु छन् । बैंकिङले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् नै । त्यसले गर्दा अन्यन्त्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ ।

खासगरी अमेरिका, चाइना जस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरुमा बैंकहरुको ब्याजदर अत्यन्त न्युन छन् । तर नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्ती पाएका थिएनन् । जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरुको पछिल्लो समय धेरै नै आलोचना भएको हो । विगतमा जे–जस्ता महामारी आएपनि बैंकहरुको नाफा बृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरु भने मारमा परिरहे । हालै केही बर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो ।

अहिले पनि अर्थतन्त्र शुस्त हिसावको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरु कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तरपनि बैंकहरुको मुनाफा भने बढेकै देखिन्छ । जस्तो चालु आर्थिक बर्ष ०८१–८२को ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अरु बाणिज्य बैंकहरु पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् ।

यसरी बैंकको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ । यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी बृद्धिमा नकारात्मक प्रभाव पारेको छ हिजोआज मानिसहरु कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन् । वास्तवमा यसले दिर्घकालिन रुपमा बैंकलाई बेफाइदा गर्ने हो । बंैकले व्यवसायको दायरा पो बढाउनुपर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रैको सोँच स्थापित हुँदैछ । उनीहरुको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ । अहिले बाणिज्य बैंकको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ । वास्तवमा बैंकहरु अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक बृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता बृद्धिमा बैंकहरुको ध्यान जान सकेको छैन ।

उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बैंक–वित्तिय संस्थाले उद्यमशीलता अभिबृद्धि गर्न शसक्त भुमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरुले गरेका देखिदैनन् । राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरु उद्यमी व्यवसायीलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरुमा कहिँकतै देखिदैन । उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इच्छा हुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुदैन ।

एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बंैकसँग ऋण लिएर उनीहरुको आम्दानी बृद्धिमा सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ–नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरु जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छौ । तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरुहरुलाई राज्यले, समाजले, वित्तिय संस्थाले सबैले सम्मान गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ ।

उद्यमशीलता बृद्धिमा बैंकको भुमिका
धेरैजसो उद्यमीलाई आफ्नै स्रोतमार्फत पुँजी पुर्याउन गाह्रो हुन्छ । किनकी उनीहरुलाई वित्तीय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ । त्यसकारण पुँजी विना अर्थात ऋण विना उद्यमीहरुलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरुको प्राथमिक सा्रेत नै बैंकहरुबाट प्राप्त गर्ने ऋण नै हो । जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकले विभिन्न तवरले उद्यमीलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरु पैसा र सम्पति सुरक्षित राख्छन् । उनीहरुले उद्यमीका बहुमुल्य सम्पति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायीक कारोबार सहज बनाउन बैंकले भुक्तानी प्रणालीलाई सहज बनाइ दिएका हुन्छन् । फलस्वरुप उद्यमीलाई करोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरु नै उद्यमीका उत्कृष्ट सल्लाहकार पनि हुने गर्छन् । बैंकले उद्यमीलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् । जस्तो कि अहिले नेपालमा धेरै बंैक तथा वित्तीय संस्थाहरु छन् । उनीहरुले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन् ।

उद्यमी व्यवसायी र उनीहरुको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी व्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरु नै चाहिन्छन् । त्यसकारण मुलत बैंकले अब आफनै ब्यवसाय बढाउने दिर्घकालिन सोँच राखरे पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरु अघि ल्याउन सक्नुपर्छ । केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन् । नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अन्र्तगत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुने गरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ ।

नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो । सबै बंैकले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायिक युनिटहरुको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन् । भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ । बंैक वित्तीय संस्थाको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो । बैक–वित्तीय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुदैन । आधुनिक समयमा नविनतम हिसावले पनि सोच्न जरुरी छ ।

(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्)

 

You might also like

Comments are closed.