बागलुङका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल, व्यवसायीहरु उत्साही

बलेवा । दशैंँ नजिकिएसँगै यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकाले भक्तजनको उपस्थिति हुन पाएन । ऐतिहासिक चैतैदशै मेला पनि भएन ।

साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टिकाको छुट्टै व्यवस्था नगरिए पनि भक्तजनको आगमन बढ्दै आएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउन निर्देशन गरेपछि यहाँका मठ मन्दिरमा चहलपहल बढेको हो । ‘शनिवारदेखि कालिका मन्दिर खुल्छ रे, अब पूजा गर्न जानुपर्ला’ पर्वतको पाङकी यमुना शर्माले भनिन्, ‘लकडाउनका कारण जान पाएकी थिइन । मन्दिर नखुल्दा धार्मिक गतिविधि पनि हुन सकेको छैन ।’

भक्तजनको चहलपहल तुलनात्मक बढ्न थालेकाले मन्दिर कसरी खुलाउने भन्ने छलफल गर्न थालिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । उनले भने, ‘सङक्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, अन्यत्र सबै खुला गरिएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला । प्रहरी र जिल्ला प्रशासनमा पनि यसबारे कुरा भइसकेको छ ।’

विगतमा घटस्थापनादेखि उक्त मन्दिरमा सयौं भक्तजन आउने गर्थे । यो वर्ष कम भएपनि आस्था राख्नेका लागि रोक्न नसकिने अध्यक्ष खडकाले बताए । जिल्लामा कालिका मन्दिरका साथै पञ्चकोट, शालिग्राम संग्राहलयमा पनि पर्यटक बढेका छन् । लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका कारण होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन हुन थालेका छन् । लकडाउन खुला भएकोले व्यावसाय बढ्न थालेको होटल संघका जिल्ला अध्यक्ष अर्जुन चोखालले बताए । अझै होटलमा बस्ने गरी पाहुना आएका छैनन्, तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भन्ने सन्देशले केही पाहुना आएका उनले बताए ।

खाद्य वस्तुको ब्यापारका साथै अन्य ब्यापार पनि बढ्न थालेकोे उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले बताए ।

You might also like

Comments are closed.