भाइटिका महोत्सवमा ३५ जना सहभागी

पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा बिहीबार आयोजना गरेको १५औं भाइटिका महोत्सव २०७९ मा देशविदेशका पर्यटकसहित ३५ जनाले सहभागिता जनाएका छन् ।

महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, इटली, जर्मनीलगायतका पर्यटकले भाग लिएको संघले जनाएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले सहभागीलाई भाइटिका लगाइदिएका थिए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ लगायत विविध कारणले पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वासका साथ महोत्सव सम्पन्न गरिएको बताए ।

कोभिडकै कारण अघिल्ला दुई बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको हो । महोत्सवमा कोभिड अघिका वर्षहरुमा कतिपय पर्यटक दोहोर्याएर समेत भाइटिका लगाउन आउने गरेको भए पनि योपटक सबै नयाँ सहभागीले टिका लगाएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ ।

कार्यक्रमका अवसरमा संघका महासचिव राजेन्द्र ढकालले भाइटिका महोत्सवका बारेमा देश विदेशका सहभागीलाई जानकारी दिएका थिए । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेको थियो ।

You might also like

Comments are closed.