राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दललाई नयाँ प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरिएकामा पेश नभएपछि वैशाख ३० गते राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दल नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन् ।

jutta mela

यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकामा ‘हाल विकसित राजनीतिक परिस्थितिमा वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेको भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएका’ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकबाट निर्णय भएको र सोबमोजिम प्रधानमन्त्रीले आग्रह गरेकाले राष्ट्रपतिले उक्त आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ आह्वानबमोजिम सरकार गठन हुन नसकेमा मुलुकमा मध्यावधि निर्वाचनका मिति तोक्नुपर्ने हुन्छ ।

You might also like

Comments are closed.