धितोपत्र बोर्डको विज्ञप्तिप्रति बैंक तथा वित्तीय संस्था परिसंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित नेप्सेमा सूचिकृत ५१ वटा कम्पनीहरुको बारेमा प्रकाशन गरेको धारणाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले असार १ गते प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ५१ कम्पनीमा लगानी गर्न जोखिम रहेको उल्लेख गरेको थियो ।

‘व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वभाविक चलखेलको नियन्त्रणसँगै सूचिकृत संस्थाहरुको कामकारबाहीको बृहत अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित संस्थाहरुको आर्थिक विश्लेषण गरी लगानी सम्बन्धी सूचनामुलक जानकारी उपलब्ध गराउनुका साथै समय समयमा आम लगानीकर्ताहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्दछ ।’

संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्र्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुने परिसंघका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

‘नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बन्धित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिविफिनले हार्दिक अपेक्षासमेत व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.