तनहुँको व्यासमा कृषकलाई मकैको बीउ वितरण

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको ६ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ ।

कृषकलाई अरुण-२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए ।

“हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले भने, ‘बाँकी बीउ वितरण जारी छ ।”उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ ।

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो ।व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घार समेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.