भारतमा पछिल्लो १ दिनमा ३ लाख ६ हजार जना नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ संक्रमित भएका हुन ।

अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४ सय ६९ कम हो ।

त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५ सय ३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७ सय ५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३ सय ३५ रहेको छ ।

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८ सय ४८ रहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४ सय ९५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्।

एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या बढ्दै गएको छ ।

You might also like

Comments are closed.