भारतमा थप एक लाख ६१ हजार जना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३ सय ८६ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७ सय ३३ जनाको मृत्यु भएको छ ।

जवकी अघिल्लो दिन नयाँ संक्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८ सय ८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९ सय ७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १६ लाख २१ हजार ६ सय ३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ ।

एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १ सय ९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । (रासस/एएनआई)

You might also like

Comments are closed.