नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सबैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन् । दैनिक संक्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ संक्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना संक्रमित भएका हुन । केरला बाहेक अन्य क्षेत्रको संक्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।
कुल संक्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । सक्रिय संक्रमितहरुको अहिलेको सङ्ख्या कुल संक्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाई छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन । दैनिक नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो ।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Comments are closed.