भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका हुन ।

यसअघि दैनिक संक्रमितहरुको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको संख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो संख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक दिनमा २८ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या भन्दा संक्रमित भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या कम हँुदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.