थप २ सय ९९ जनामा कोरोना पुष्टि

काठमाडौं । बिहिबार देशभरमा गरी थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५१ को परीक्षण गरिएको थियो । आज २ सय ६० जना संक्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार १ सय ७६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमित सात हजार ६ सय ४२ रहेका छन् । नेपालमा संक्रमणदर १८ प्रतिशत रहेको छ ।

नेपालमा ५ सय भन्दाबढी संक्रमित जिल्ला काठमाडौं र ललितपुर रहेको मन्त्रालयले जनाएको छ । दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

अहिले होम आइसोलेसनमा सात हजार १ सय ६९, संस्थागत आइसोलेसनमा ४ सय ७३, सघन उपचार कक्षमा २ सय २४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । आज ७१ हजार ८ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा ८९ लाख ९६ हजार २ सय ५३ जनाले र दोस्रो मात्रा ७७ लाख १३ हजार ४ सय ९ जनाले लगाएका छन् ।

मन्त्रालयका अनुसार आज पाँच जिल्लामा संक्रमित सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट रहेका छन् । पछिल्लो २४ घण्टामा थप छ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८९ पुगेको छ ।

You might also like

Comments are closed.