भारतमा दैनिक संक्रमित दरमा कमी, सक्रिय संक्रमितको संख्या पनि घट्यो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ ।

शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो ।

शुक्रबारभन्दा शनिबारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् । जबकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो ।

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कूल संख्या चार लाख १२ हजार १५३ रहेको छ । जबकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् ।

संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।

You might also like

Comments are closed.