नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४ सय ८८ जना संक्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १ सय ३३ रहेको छ ।
यो सङ्ख्या कुल संक्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो । सक्रिय संक्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८ सय ६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८ सय ३० रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल संक्रमितमध्येको ९८.३३ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।
हिजो बिहीबार मात्र कोरोना संक्रमणको कारण ४ सय ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म ६३ करोड ७१ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २० करोड २७ लाख भन्दा बढी डोज खोप लगाइएको छ । रासस
Comments are closed.