शंखर पहाडी, सर्लाही ।
सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना सङ्क्रमित भएर पनि अन्य सङ्क्रमितको उपचारमा दिनरात लागिरहेका छन् । गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने सङ्क्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ सङ्क्रमित हुँदा समेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।
सर्लाही जीवन अस्पताल सञ्चालक अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफूहरु नै कोरोना सङ्क्रमित छन् । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरू समेत कोरोना सङ्क्रमित भएको अमृताले बताईन् । अमृताका अनुसार उनीहरूकै कारण छोरा, छोरी, दाजु, बुबासहित पूरै परिवार सङ्क्रमित भएको छन् ।
उप्रेती परिवारले निर्माणाधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएको छ । नगरपालिकाले भवनमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको छ आइसोलेसन स्थापना गरेको सुनेपछि गत वैशाख २४ देखि नगरका सङ्क्रमितहरु उपचारका लागि आउन शुरु गरेका अमृताका श्रीमान अर्जुनले बताए । नगरपालिकाले बिरामीको उपचारमा भने कुनै ध्यान नदिएको उनीहरुको भनाइ छ ।
बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उहाँहरू आफैँ उपचारमा खटिएका छन् । ‘‘नगरपालिका जिम्मेवारीबाट पन्छिरहेको छ, बिरामी शय्यामा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ’’, अर्जुनले भने । दुवैजना स्वास्थ्यकर्मीले सञ्चालन गरेको निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचार निःस्वार्थ भावले गरिरहँदा नगरपालिका भने मौन बसेको देख्दा आफूहरुलाई आश्चर्य लागेको अमृताले बताईन् ।
अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना सङ्क्रमित भर्ना भएका छन् । गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढङ्गले बिरामीको उपचार गरिरहनु परेको अमृताले दुःखेसो गरिन् । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गरेका थिए । अहिले त्यही अक्सिजन प्रयोग भइरहेको छ ।
निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ सङ्क्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको स्वास्थ्यकर्मी यस दम्पतीको भनाइ छ । आफूहरुले सोचेजति सेवा दिन नसके पनि बिरामीहरू अन्यत्र जान नमानेको अमृताले बताईन् । “थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको द्वारमा आएर बस्ने गरेको छन्”, उनले भनिन् । बिरामीका लागि अहिले उनीहरु सारथी जस्तै बनेका छन् ।
अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको उनको भनाइ छ । नगरपालिकाले भने अस्पतालमा राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । अस्पताल सञ्चालक अमृता सिएमए हुन् भने उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् ।
Comments are closed.