अस्पतालमा नम्र व्यवहार र हार्दिकता

डा. बच्चु कैलाश कैनी

हामीले कतिपय समय र अवस्थामा स्वास्थ्यकर्मीले सेवाग्राहीहरुलाई रुखो बचन बोलेको, आदर नगरेको, राम्रोसंग रोगको परीक्षण, पहिचान, निदान र उपचारकोबारे जानकारी नगराएको गुनासोहरु सुन्दै आएका छौं । त्यस्तै गरी स्वास्थ्य सेवाग्राहीहरुले स्वास्थ्यकर्मीहरु प्रति अभद्र व्यवहार गरेको, अनादार गरेको र अविश्वास गरेको कुरा पनि सुन्दै र भोग्दै आएका संवेदनशील ।

स्वास्थ्य सेवा एकदम संवेदनशील क्षेत्र हो । स्वस्थ्य मानिसको भौतिक स्वास्थ्य र मानसिक अवस्था मात्रै हैन, यो अरु धेरै कुराहरु जस्तै, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध, रोजगारी, सामाजिक र अन्य कुराहरुसंग प्रत्यक्ष जोडिएको हुन्छ । स्वास्थ्य सेवा बालक, युवा, बृद्ध लगायत सबैले त्यत्तिकै रुपमा उपयोग गरेका हुन्छन् । स्वास्थ्य सबै नागरिकको नैसर्गिक अधिकार पनि हो । हामी सबै स्वास्थ्य सेवा प्रयोगकर्ता भएको नाताले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीले सेवा उपभोगकर्तालाई कस्तो व्यवहार गर्छन् भन्ने निकै अर्थपूर्ण हुन्छ ।

स्वास्थ्य सेवा उपलब्ध गराउँदा स्वास्थ्यकर्मी र सेवा उपभोगकर्ताको बिचमा अलिखित सम्झौता र सम्बन्ध हुन्छ । जस अनुसार स्वास्थ्यकर्मीले आफ्नो योग्यता र दक्षताको भर मग्दुर प्रयोग गरी सकेसम्म स्तरीय सेवा उपलब्ध गराउनु र स्वास्थ्य सेवा उपभोगकर्ताले स्वास्थ्यकर्मीलाई विश्वास गरी आपसी समझदारीको वातावरण खडा गराउनुपर्ने हुन्छ । यो सम्झौता हरेक सेवामा उत्तिकै रुपमा लागु हुन्छ । तर, यो सम्बन्धको परीक्षण भने स्वास्थ्य सेवा उपभोगकर्ता वा स्वस्थ्याकर्मी मध्ये कुनै एक वा दुवै पक्षलाई कुनै अप्ठ्यारो पर्दा हुन्छ । यो पनि धेरै जसो कसको व्यवहार नम्र र को कति हार्दिक छ भन्ने कुरामा समेत परीक्षण हुन्छ ।

jutta mela

स्वास्थ्य सेवा उपभोगकर्ताले स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको बारेमा जानकारी पाउनु उसको अधिकार हो । त्यसैले यो कुराको शुरुवात स्वास्थ्य सेवा उपभोगकर्तालाई स्वास्थ्यकर्मीले भेट्ने बित्तिकै आफ्नो नाम र पदको परिचय दिएर शुरु गर्नु उपयुक्त हुन्छ ।

हरेक स्वास्थ्यसेवा उपभोगकर्ताको नाम र विवरण मेडिकल वा नर्सिङ कागजहरुमा उल्लेख गरिएको हुन्छ । त्यसैले, स्वास्थ्य सेवा उपभोगकर्ताको परिचय स्वास्थ्यकर्मीले पहिले नै पाएको हुन्छ । तर, हरेक स्वास्थ्य सेवा उपभोगकर्ताले आफूले भेट्ने स्वास्थ्यकर्मीको परिचय पाएको नहुन सक्छ । आफ्नो परिचय दिने पालो, संवादको शुरुवात गर्ने पालो र हार्दिक वातावरण बनाउने कुराको शुरुवात स्वास्थ्यकर्मीले नै गर्नुपर्छ ।

नम्र व्यवहारको अपेक्षा कसले पो गर्दैन र ? सेवाग्राहीले हरेक सेवा र कार्यालयमा नम्र व्यवहार र हार्दिकताको अपेक्षा राख्नु स्वाभाविक हो । स्वास्थ्य सेवा उपयोग गर्ने मानिसहरु कुनै न कुनै शारीरिक वा मानसिक रोग वा पीडाबाट गुज्रेका हुन्छन । त्यसैले पनि उनीहरु प्रति स्वास्थ्यकर्मी मात्रै हैन परिवारका सदस्य, आफन्त र अरु सबैले नम्र व्यवहार गर्नु पर्दछ ।

भनिन्छ कतिपय अवस्थामा मानिसको नम्र र भद्र व्यवहारले कतिपय मानसिक र शारीरिक पीडाबाट मुक्ति दिन्छ । साथै, एक आपसमा विश्वास र सद्भावको वातावरण सिर्जना गर्छ । त्यसैले पनि स्वास्थ्य सेवाका सेवाग्राही र स्वास्थ्यकर्मीहरुले पनि दुवै पक्षको हितको लागि मिठो बोल्ने, नम्र हुने र हार्दिकता देखाउनु जरुरी छ ।

नम्र व्यवहार र हार्दिकताको अपेक्षा कदापि एकतर्फी हुन सक्दैन । स्वास्थ्य सेवाका सेवाग्राहीले पनि आफूलाई सेवा दिने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई सम्मान, आदर र विश्वास गर्नु पनि उत्तिकै जरुरत हुन्छ ।

स्वास्थ्यकर्मीले गर्ने कुनै पनि कार्य आफैमा महान कार्य हो । यो जति ठूलो समाज सेवा र मानस सेवा अरु हुन सक्दैन । यो अवसर सबै जसो स्वास्थ्यकर्मीलाई मिल्नु स्वयंम उनीहरुको लागि पनि गर्वको कुरा हो । यस्तो महान कार्य गर्ने स्वास्थ्यकर्मीले नमिठो बोलेको, अरु कसैलाई होच्याएर बोलेको वा कसैसंग अभद्र ब्यबहार गरेको त्यसैपनि सुहाउने काम होइन । त्यस्तै, दिनरात नभनी हरेक समय र हरेक स्वास्थ्य सेवाग्राहीको दुख र पीडामा मल्हम लगाउने र मानव सेवामा समर्पित त्यस्ता स्वास्थ्यकर्मी प्रति नमिठो बोल्ने, र्दुव्यवहार गर्ने, अनावश्यक रुपमा शंका एवं उपशंका गर्नु र आक्रोश पोख्नु कदापी नैतिक र व्यावसायिक रुपमा उचित होइन ।

हरेक सेवाको प्रभावकारिता र दक्षता नाप्ने आफ्नै सुचकांकहरु हुन्छन् । सेवा उपलब्ध हुने काममा प्रभावकारिताको कुरा गर्ने हो भने सेवाग्राही कति खुसि भए, सेवाग्राहीले कस्तो सेवा पाए, सेवाग्राहीको समस्या के कसरी समाधान भए आदि कुराहरु नै मुख्य रुपमा हेर्नुपर्ने हुन्छ । त्यसरी नै स्वास्थ्य सेवाको प्रभावकारिताको कुरा गर्दा सेवाग्राहीहरुको रोगको परिक्षण, पहिचान र उपचारको विभिन्न पक्षको साथ–साथै उनीहरुको सन्तुष्टिको मात्रा पनि हेर्नुपर्ने हुन्छ ।

स्वास्थ्य सेवामा सेवाग्राहीहरुले स्वास्थ्यकर्मीको बोलीचाली, व्यवहार र नम्रताको पनि मापन गर्छन् । स्वास्थ्यकर्मीहरुको सम्बन्धित बिषयको दक्षताको साथ–साथै उनीहरुको बोलीचाली, व्यवहार र नम्रताको मापनको आधारमा सेवाग्राहीहरुले कुन स्वास्थ्यकर्मी कति राम्रो वा नराम्रो भन्ने मुल्यांकन पनि गर्छन । त्यसैले पनि हरेक स्वास्थ्यकर्मीले आफ्नो बिषयमा दक्षता हासिल गरेर मात्रै हुँदैन । उनीहरुले कसरी संचारको प्रयोग गर्ने, जन सम्पर्क कसरी गर्ने, विवादको बेला कसरी प्रस्तुत हुने वा विवाद समाधान गर्ने, कसरी सेवाग्राहीलाई खुसी पार्ने आदि जस्ता कुराहरुको ज्ञान हुनुपनि जरुरी हुन्छ ।

हँसिलो हुनु, सकारात्मक सोच्नु र अर्कोको प्रशंसा गर्नु पनि एउटा कला हो , जुन स्वास्थ्यकर्मी र सेवाग्राही मात्रै हैन सबैको लागि नितान्त जरुरी हुन्छ । हाँस्नु र हँसाउनु यस्तो कुरा हो जुन सित्तैमा पाइन्छ र जुनसुकै बेला पनि प्रयोग गर्न सकिन्छ । सेवा दिने बेला जति यसको प्रयोग गर्न आवश्यक हुन्छ त्यत्तिकै सेवाग्राही र उनीहरुको परिवारको पिडामा संवेदनशील पनि हुनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीहरुमा सेवाग्राहीको कुरा ध्यान दिएर सुन्ने, पिडामा सहानूभूति दिने र दुःख परेको बेला पनि वातावरण सम्हाल्न सक्ने कला, सीप, योग्यता र दक्षता पनि हुनुपर्छ । जसले गर्दा सेवाग्राही र उनीहरुका आफन्तहरु स्वास्थ्याकर्मीहरुको भरोसा र विश्वास गर्न सक्छन् ।

स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुको बिचमा हुने धेरैजसो विवाद बोलीवचन, संचार र सानोतिनो असमझदारीको कारणले नै हुन्छन् । त्यस्ता विवाद र असमझदारी हटाउनका लागि स्वास्थ्यकर्मीहरुले आफ्ना र स्वास्थ्य सेवाको समस्याहरु जस्तै ढिला सुस्ती, चिकित्सकीय जटिलता, श्रोत र साधन आदि इमान्दार र पारदर्शी रुपमा सेवाग्राहीलाई भन्नु पर्दछ । साथ–साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले पनि त्यस्ता समस्याहरुबाट पाठ सिक्ने र भविष्यमा त्यस्ता कुराहरु नदोहोराउने प्रतिबद्ता पनि गर्नुपर्दछ । यसो भएमा मात्रै दुवै पक्षबीच समझदारी र विश्वास बढ्छ ।

मानवजाती आफैमा भावनात्मक हुन्छ । हामी बिरामी पर्दा मात्रै हैन अरुबेला पनि अरुले आफूलाई ख्याल राखेको, माया गरेको, आफूसंग मिठो बोलेको र राम्रो सम्बन्ध राखेको अपेक्षा गर्दछौं । । त्यसैले पनि हामी आफू अरूबाट जस्तो व्यवहार सम्बन्ध र बोलीचालीको अपेक्षा राख्द छौं । अरुप्रति पनि त्यस्तै व्यवहार गर्ने हो भने सबैको भलो हुन्छ । आफू भलो त जगत भलो ।

 कैनी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत हुन् ।

You might also like

Comments are closed.