नयाँ सम्भावनाको खोजी गर्न फीन इलेक्ट्रो टेक सहयोगी बन्नेछ

नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) ले ११औं संस्करणको रुपमा ‘फीन इलेक्ट्रो टेक २०२४’ आयोजना गर्दैछ । यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा (४ दिन) फीन इलेक्ट्रो टेक हुनेछ । व्यवसायी तथा उपभोक्तालाई दृष्टिगत गर्दै यहाँ हुन गइरहेको फीन इलेक्ट्रो टेकका सम्बन्धमा अध्यक्ष रेशम देवकोटासँग गरिएको कुराकानी प्रस्तुत छ :

फिन इलेक्ट्रो टेक २०२४ कुन उद्देश्यका साथ आयोजना गर्नु भएको हो ?
व्यवसायी र उपभोक्तालाई नयाँ प्रविधिका विषयमा अवारनेस र अभ्यस्त गराउनका लागि हामीले फिन इलेक्ट्रो टेक आयोजना गर्न गइरहेका छौँ । हामीले बिक्री वितरण गर्ने सामानमा प्रविधिहरु परिवर्तन भइरहेका हुन्छन्, जुन प्रविधिलाई बुझ्न र बुझाउन मेलाले योगदान गर्नेछ । अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा विद्युतीय क्षेत्रमा भएका गतिविधिहरुको प्रदर्शनी हुनेछ । हाम्रा स्टेक होल्डरहरुलाई एउटै छानामुनी उपलब्ध गराएर यस क्षेत्रमा भएका समस्याहरुको निराकरणको पहल गर्दै नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मेला सहयोगी बन्नेछ । हामीले सुरक्षालाई प्राथमिकता दिनुपर्छ । सुरक्षामा गुणस्तरीय र सुरक्षित सामान र त्यसपछि सुरक्षित प्रविधि अर्थात् प्राविधिक हुनुपर्छ । एउटा कुनै पनि घर वा भवनमा सुरक्षित हाउसवेयरिङ हुन जरुरी छ । सुरक्षित हाउसवेयरिङ कसरी गर्ने बुझ्न पनि मेला सहयोगी हुनेछ ।

कती व्यवसायी तथा उपभोक्ताले अवलोकन गर्ने अनुमान गर्नुभएको छ ?
यो फिन इलेक्ट्रो टेक नितान्त व्यवसायी तथा उपभोक्ताको हितका लागि हामीले आयोजना गरेका हौँ । मेला अवधीभर व्यवसायी र उपभोक्ता गरी ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ । मेलामा सहभागी हुन देशभरबाट विद्युतीय व्यवसायीहरु काठमाडौं आइसक्नुभएको छ । देशभर यो व्यवसायमा २५ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको पाइएको छ । अधिकांश व्यवसायीले यहाँ हुन लागेको मेला अवलोकन गर्ने जानकारी हामीले सम्बद्ध व्यवसायीबाट पाएका छौैँ । देशभरका व्यवसायी र यस व्यवसायसँग सरोकार राख्ने सबै क्षेत्रका व्यक्ति यहाँ मेला आयोजना हुँदा उत्साही भएको पाएका छौं । नयाँ प्रविधिबारे जानकारी दिने मेला भएकाले पनि सरोकारवालालाई कस्तो खालको नयाँ प्रविधि भित्रिएको छ भन्नेमा कौतुहलता बढेको छ ।

अहिले विद्युतीय सामग्रीहरु नेपालमै उत्पादन हुने अवस्था कस्तो छ ?
केही सामानमा नेपाल आत्मनिर्भर नै भइसकेको अवस्था छ । जस्तो कि, हाउसवेयरिङका तारहरुमा आत्मनिर्भर भइसकेको अवस्था छ । ट्रान्सफर्मरहरु पनि धेरै उत्पादन हुन्छन् । प्यानलबोर्ड फेब्रिकेसनको पनि उत्पादन बढिरहेको छ । पोलहरुको उत्पादन यही हुन्छ । अन्य प्रडक्टको उत्पादन हुने क्रम पनि बढ्दो छ । सरकारी नीति राम्रो भयो भने विद्युतीय सामग्रीको उत्पादन थप बढाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ ।

यो क्षेत्रमा वार्षिक कारोबार कति हुन्छ ?
वार्षिक १०५ अर्ब बराबरको कारोबार हुने गरेको तथ्याङ्कले देखाएको छ । राजश्वमा पनि यो क्षेत्रको योगदान उल्लेखनीय छ । कारोबार धेरै हुँदै गर्दा राज्यलाई पनि फाइदा छ । यस क्षेत्रमा व्यवसायीको संलग्नता बढ्दो छ ।

अन्त्यमा फीन इलेक्ट्रो टेकका सम्बन्धमा के भन्नुहुन्छ ?
फीन इलेक्ट्रो टेक हामीले २ वर्षको अन्तरालमा गर्दै आइरहेको अवगत नै छ । नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) को आयोजनामा कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको ‘फीन इलेक्ट्रो टेक २०२४’ एक पटक अवलोकन गरेर नयाँ कुरा सिकेर जानुहुन व्यवसायी, उपभोक्ता तथा सरोकारवाला निकाय, व्यक्ति सबैमा अनुरोध छ । फीन इलेक्ट्रो टेकले अवलोकनकर्तालाई नयाँ कुरा सिकाउनेछ भन्नेमा हामी विश्वस्त छौं ।

lcci
You might also like

Comments are closed.