भोजपुर । जिल्लाका किसान अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् ।
बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अग्र्यानिक खेती गरिरहेका छन् । उनले भने, “हामीले २१ आधुनिक टनेल निर्माण गरेर अग्र्यानिक खेती थालेका छौँ । हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अग्र्यानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौँ ।”
किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् । कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको कृषक उनले बताए ।
मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरु अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन् ।
तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादिका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गरिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गरिक खेती प्रवद्र्धन अभियान कार्यक्रमअन्तर्गत खेतीको थालनी भएको हो ।
१० लाख रुपैयाँ लागतमा दुईवटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अग्र्यानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ ।
केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, “हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अग्र्यानिक खेतीलाई प्रवद्रधन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अग्र्यानिक खाद्य बालीको मागलाई केही हदसम्मका पूरा गर्नेमा हामी ढुक्क छौँ ।”
Comments are closed.