महोत्सवमय गण्डकी

पोखरा । ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य संघले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो ।

अंग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव पनि सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य सघंद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाले आफ्नो ३२औँ संस्करण हालै पूरा गरेको छ ।

युनाइटेड युवा क्लब १२औँ संस्करणको पोखरा महोत्सव आयोजनाको संघारमा जुटेको छ । पोखरा महोत्सव यही पुस २६ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । यही पुस १९ गतेदेखि स्याङ्जा आँधीखोला महोत्सव सुरु हुँदैछ । स्याङ्जा चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त महोत्सव माघ २ गतेसम्म चल्नेछ ।

माघे सङ्क्रान्ति पर्व पारेर म्याग्दीको बेनी, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा ठूलो मेला लाग्दैछ । यी मेला इतिहास र परम्परासँग जोडिएका छन् । चाडपर्वका याममा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक थपिरहेका छन् । यसै पनि हिउँद मेला-महोत्सवको याम हो ।

दुई वर्षअघिसम्म कोभिड–१९ महामारीले मेला–महोत्सव ठप्प थिए । महामारी अन्त्यपछि मेला–महोत्सवको लहर नै चल्न थालेको हो । यस्ता मेला–महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध संघसंंस्था, स्थानीय क्लबलगायत छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् ।

  • उपेन्द्रराज सुवेदी (राजु), प्रचारप्रसार संयोजक, लेखनाथ महोत्सव  :
    पुस ५ गते जारी लेखनाथ महोत्सव पुस १६ गतेसम्म चल्ने बताए । महोत्सवबाट रु ९० लाख आम्दानी गर्ने र खर्च कटाएर रु दश लाख बचत गर्ने लक्ष्य छ । बचत रकम व्यावसायिक हकहित तथा सामाजिक क्षेत्रमा खर्च हुनेछ ।

मुलुक आर्थिकमन्दीको मारमा परिरहेका बेला मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने गरेको व्यावसायिक क्षेत्रका अगुवा बताउँछन् । महोत्सवमा हुने किनमेल र बन्द व्यापारले थोरै भए पनि व्यवसायीले राहतको महसुस गर्न पाएका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले पर्यटन प्रवद्र्धनका साथै आर्थिक गतिविधिमा मेला–महोत्सवले टेवा पु¥याउने बताए ।

‘महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछौं,’ उनले भने, ‘कोरोना महामारी र आर्थिकमन्दीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुगेको छ ।’ महोत्सवबाट नाफाघाटा मात्र नसोचेर आयोजकले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले भने ।

विगतका महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, चिडियाखाना निर्माण र पर्यटन प्रवद्र्धनमा खर्च गरेको क्लबले यसपालिको महोत्सवबाट बचेको रकमलाई न्यून आय भएका परिवारका बालबालिकालाई लक्षित गरी आवासीय छात्रावास निर्माणमा खर्च उद्देश्य लिएको छ ।

लेखनाथ महोत्सवको प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदीले पुष ५ गतेदेखि शुरु भएको महोत्सव पुष १६ गतेसम्म चल्ने बताए । महोत्सवबाट रु ९० लाख आम्दानी गर्ने र खर्च कटाएर रु दश लाख बचत गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवं बिक्री, शैक्षिक प्रदर्शनी, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष राखिएको छ । महोत्सवमा तीन सय ३४ व्यावसायिक कक्ष रहेको संयोजक सुवेदीले जानकारी दिऐ । जातीय भेषभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गर्ने गरिएको छ । महोत्सवमा दैनिकरुपमा कलाकारको साङ्गीतिक प्रस्तुति भइरहेको छ । रमाइलो बाल उद्यान, प्रतिभा पहिचान, हाँस्यव्यङ्ग्य प्रहसन, कविता प्रतियोगिता, लोकदोहोरी प्रतियोगितालगायत लेखनाथ महोत्सवका आकर्षणका रुपमा रहेका छन् ।

  • राजु श्रेष्ठ, अध्यक्ष, युनाइटेट क्लब
    मुलुक आर्थिकमन्दीको मारमा परिरहेका बेला मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । महोत्सवमा हुने किनमेल र बन्द व्यापारले थोरै भए पनि व्यवसायीले राहतको महसुस गर्न पाएका छन् । पर्यटन प्रवद्र्धनका साथै आर्थिक गतिविधिमा मेला–महोत्सवले टेवा पु¥याउनेछ ।

यस्तै ‘रेवान’ पोखराले आयोजना गरेको सडक महोत्सवलाई लक्षित गरी फेवा किनारलाई सिँगारेर चिटिक्क पारिएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने आदर्श वाक्यसहित सुरु भएको सो महोत्सवलाई करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए । विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शन, लोकदोहोरी प्रतियोगिता, सडक नाटक, झाँकी प्रदर्शन, रात्रिकालीन ‘कन्सर्ट’लगायत महोत्वका मुख्य आकर्षण हुन् ।

पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयमा पोखराको पर्यटनमा देखिएका अवसर र चुनौतीको विषयमा बहस कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायत कृषिउपजको प्रदर्शनीलाई पनि महोत्सवमा समेटिएको संयोजक पौडेलल बताए ।

बुधबारदेखि सुरु भएको बागलुङ महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । यही पुस २१ गतेसम्म चल्ने महोत्सवको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गरेका थिए ।

उक्त महोत्सवमा एक सय २० व्यावसायिक र ३० वटा प्रवद्र्धनात्मक कक्ष रहेको आयोजकले जनाएको छ । लोकदोहोरी, भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलनलगायत कार्यक्रमलाई महोत्सवमा समेटिएको अध्यक्ष कँडेलले बताए ।

महोत्सवबाट मौलिक संस्कृतिको संरक्षण र जगेर्नामा पनि योगदान पुग्ने उनको भनाइ छ । जातजातिका मौलिक भेषभूषासहितका नाच र झाँकीले महोत्सवमा आकर्षण थप्ने गरेका छन् । लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफैँ पनि लालयित हुन्छन् ।

पैसा खर्चेर भएपनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन् । डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले पोखरामा हुने हरेक महोत्सवमा गुरुङ संस्कृति देखाउने गरिएको बताए ।

‘मेला, महोत्सवले संस्कृति बचाउने काम गरेको छ, आयोजकले आमन्त्रण गरेको ठाउँमा हामी पुग्ने गरेका छौँ,’ उनले भने, ‘पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको कुरालाई मानिस रमाउँछन्, चासोपूर्वक लिन्छन् ।’ रासस

You might also like

Comments are closed.