बिमस्टेक चेम्बर गठन हुँदै, नेपाल उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिमस्टेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले बिमस्टेक चेम्बर अफ कमर्श गठन हुने निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहनेछ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरेका छन् । बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।

बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिको बुधबार बसेको बैठकमा निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ । सो बैठकमा अध्यक्ष ढकालसहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए ।

 

You might also like

Comments are closed.

Secret Link