काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय” विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनैपनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका हुन् ।
ढकालले विगत केहि बर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्धाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए । कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र सङ्कलन मात्र हैन करदाताको मनोवल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्नेतर्फ ध्यान दिएमा राजस्व सङ्कलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने उनी बताउँछन् ।
अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसंग जोडिएको हुनाले लक्षित राजस्व सङ्कलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनुपर्नेमा जोड दिए । यसको लागि व्यवशायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायको एकिकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, कार्यसमितिका पदाधिकारी, विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायी लगायत सहभागी थिए । कार्यक्रममा सहभागीले राखेको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताएका थिए ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कारवाहीलाई पारदर्र्शी बनाई समिक्षा हुनुपर्नेमा जोड दिए । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सार नै औद्योगिक वातावरण प्रवद्र्धनको लागि रहेको र विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्वन्धि नीतिहरु लगानीमैत्री बन्दै आएको बताए । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरेका हुन् ।
Comments are closed.