काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा जारी ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’प्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गरी फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसनले मेलाको आयोजना गरेको हो ।
मेलामा अन्य भन्दा शनिबारका दिन बढी भिडभाड हुने गरेको फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसनका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । कार्तिक २४ गतेदेखि सुरु भएको मेला पुस ७ गतेसम्म चल्ने भएको छ।
यसअघि मेला पुस २ गतेसम्म चल्ने भनिएको थियो । तर, विशेष कारणबस ३ दिन रोकिएको मेला सोमबारदेखि पुनः सुचारु भएको हो। रोकिएको अवधिको सटाेमा मेलालाई पुस ७ गतेसम्म लैजाने तयारी भएको मेला संयोजक उपाध्यायले जानकारी दिए । मेलाको हालसम्म ४ लाख १० हजारले अवलोकन गरिसकेका छन् भने, करिब ३६ हजार जोर जुत्ता बिक्री भइसकेको संयोजक उपाध्यायले जानकारी दिए ।
मेलामा १५ देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले धेरै ग्राहक लाभान्वित भएको उपाध्यायको भनाइ छ। मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए।
बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टलहरु राखिएका छन्।








Comments are closed.