अन्तर्राष्ट्रिय फुटवेयर मेला पुस २१ देखि

मेलामा झण्डै २ सय उद्योगी सहभागी हुने अनुमान

काठमाडौं । आगामी पुस २१ गतेदेखि १६औं अन्तर्राष्ट्रिय फुटवेयर मेला सुरु हुने भएको छ । यसअघिका १५औं संस्करणसम्म राष्ट्रिय रुपमा मनाइएको यो मेला यस वर्षदेखि भने अन्तर्राष्ट्रिय रुपमा मनाउने तयारी गरिएको आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । मेला पुस २१ गतेदेखि २३ गतेसम्म चल्नेछ ।

यसका लागि विश्वका विभिन्न देशहरुबाट उत्पादनहरु राख्नका लागि दुतावास र परराष्ट्र मन्त्रालयमार्फत तथा अन्य सहयोगी नियोगहरुमार्फत आह्वान गरिएको संस्थाका उपाध्यक्ष तथा मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । आफ्ना उत्पादन राख्नका लागि टर्की, चाइना र भारतबाट प्रतिवद्धता आइसकेको उनले बताए ।

हालसम्म भारतबाट ३५ देखि ३६ वटा कम्पनी, चाइनाबाट १० वटालगायत विश्वभरका देशबाट यो मेलामा उत्पादनहरु प्रदर्शनीमा आउने निश्चित भइसकेको छ । फुटवेयर इन्डष्ट्रिजको इतिहासमा पहिलोपटक औद्योगिक प्रदर्शनी वृहतरुपमा हुन गइरहेको उनले बताए । साथै देशभरीका डिलर, होलसेलर र खुद्रा व्यवसायीहरु लगायत ५०औं हजार व्यवसायीहरुलाई मेलाका लागि आह्वान गरिएको उनले बताए ।

त्यस्तै, विभिन्न संघ संस्था, इन्स्टिच्युटहरु, प्राधिकरणदेखि लिएर शैक्षिक संस्था, सरकारी अर्धसरकारी संस्थानहरुलाई मेलाको अवलोकन गर्न आह्वान गरेको पनि उनले बताए । विदेशमा भएका अहिलेका प्रविधि, टेक्नोलोजी, उत्पादन, र–मेटरियलदेखि लिएर उनीहरुको ज्ञान र सीप लिने र आफ्नो लागतलाई घटाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको संयोजक बन्जाडेले बताए ।

मेलामा देशभरीका व्यापारीहरुलाई प्रशिक्षित गर्ने, क्वालिटीका बारेमा जानकारी गराउने, प्रविधिकाबारे सिकाउने, नयाँ–नयाँ डिजाइनहरु देखाउने उनले बताए । मेलामा ठूलो स्केलदेखि सानो स्केलसम्मका झण्डै २ सय उद्योगीहरु सहभागी हुने अनुमान गरिएको छ ।

मेलाको टाइटल स्पोन्सरमा गोल्डस्टार, पावरबाइमा म्याजिक, सिल्भर स्पोन्सरमा एमबिएस टेक्सटाइलस् कम्पनी र क्यापिटल सुज, स्पोन्सरमा फस्ट वाल्क, को–स्पोन्सरमा रन सुज, डिपिएल धु्रव पोलिक्याम, सुज ल्याण्ड र यति पोलिक्यामलगायतका रहेका छन् । देशभरका उद्योगी, व्यापारीहरु मेलामा सहभागी हुने भएकाले मेला एतिहासिक रुपमा सम्पन्न हुने आयोजकको अपेक्षा छ । मेलाले नेपाली उत्पादनहरुको दायरा धेरै ठूलो हुने पनि अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.