‘सीताराम–पद्मकुमारी फाउन्डेसन’ स्थापना

काठमाडौं । समाजसेवी स्व सीताराम ढकाल र आमा पद्मकुमारीका नाममा काठमाडौँ कोटेश्वरस्थित उहाँका परिवारले समाज विकासका योगदान गर्न ‘सीताराम–पदमकुमारी फाउन्डेसन’ स्थापना गरेका  छन् । भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय ढकालको योगदानलाई सम्मान गर्दै उनको अभियानलाई कायमै राख्न फाउन्डेसन स्थापना गरी सामाजिक कार्य शुरु गरिएको छोरा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त फाउन्डेसनको आज काठमाडौंमा भएको प्रथम साधारणसभामा संस्थाका संरक्षकसमेत रहेका ढकालले  बुबाको रु १० लाख रकमबाट अक्षयकोष स्थापना गरी सामाजिक कार्य शुरुआत गरिएकोे जानकारी दिए ।

उक्त साधारणसभा उद्घाटन गर्दै वाग्मती प्रदेशका पूर्वप्रमुख तथा महिला बेचबिखन विरुद्धका अभियन्ता अनुराधा कोइरालाले आमाबुबाको सम्झनामा संस्था नै स्थापना गरेर समाजलाई योगदान दिन खोज्नु महत्वपूर्ण कुरा भएको बताए । उनले बालिका र महिलामाथिका अपराध बढिरहेकाले पहिलो कुरा उनीहरुलाई शिक्षित बनाउनुपर्ने आवश्यकता आँैल्याउँदै फाउन्डेसनले शिक्षामा विशेष योगदान गर्ने छ भन्ने आशा व्यक्त गरे ।

संरक्षक ढकालका अनुसार फाउन्डेसनले शैक्षिक अध्ययन अनुसन्धानका साथै विपन्न गरीब, फरक क्षमता भएकालाई प्रोत्साहन र सहयोग गर्ने, ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई सहयोग र आत्मनिर्भर बनाउन आवश्यक कर्याक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम स्थापना गर्ने उद्देश्य रहेको छ ।

यस्तै युवा लक्षित सीपमूलक तालीम, खेलकूद, लेख रचना प्रकाशन, स्वरोजगारमूलक कार्यक्रम चलाउने, स्वास्थ्य शिविर, एम्बुलेन्स र शव बाहन सेवा सञ्चालन गर्ने, गरीब किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने, प्रकोपजन्य घटना प्रभावितलाई आवश्यक सहयोग गर्ने, मठ, मन्दिर सरसफाइ तथा निर्माण, एवं वातावरण संरक्षणसम्बन्धीका कार्यक्रम सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

उक्त समारोहमा आजै कोषमा रु ५१ हजार प्रदान गरी नरेन्द्र खतिवडा संरक्षण सदस्य र रु २५÷२५ हजार नगद प्रदान गरी श्याम ढकाल र कवि कटवालले विशिष्ट सदस्यको प्रमाणपत्र लिए । भोजपुरमा जन्मिनु भई काठमाडौँ बस्दै आउनुभएका सिताराम ढकालको ७७ वर्षको उमेरमा गत पुसमा निधन भएको थियो ।

आफ्नो जीवनकालमा उनले गाउँमा गहना बेचेरसमेत स्कुल बनाउने अभियानमा लागेका भन्दै उनको योगदानको स्मरण गरिएको थियो । ज्येष्ठ नागरिक आन्दोलनका योद्धा ढकाले गाउँ छँदा विकास निर्माण, आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गरेका थिए । काठमाडौँ आएपछि उनले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गरेका थिए ।

बालकृष्ण अधिकारी सिर्जनशील पुरस्कार घोषणा

उक्त समारोहमा साहित्यकार बिन्दु अधिकारी ‘ढकाल’ले पिताको सम्झनामा ‘बालकृष्ण अधिकारी सिर्जनशील साहित्य पुरस्कार’ स्थापनाको घोषणा गरेका छन् । हरेक वर्ष साहित्यकारलाई सोही कार्यक्रममा वितरण गर्ने गरी उक्त पुरस्कार घोषणा गरेका हुन् । अधिकारीले आफ्नो पुस्तक ‘बिन्दुहरु’ र ‘मावली दिदी’ को बिक्रीबाट आएको रकम रु दुई लाखको कोष स्थापना गरी आएको व्याज रकमबाट पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।

उक्त समारोहमा पूर्वमन्त्री टङ्क ढकाल, शङ्कर कोइराला, फाउन्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले स्व सीताराम ढकालको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो ।

You might also like

Comments are closed.