छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुल्ला

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड ९३ लाख दुई हजार ५ सय रुपैयाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । जसका लागि कम्पनीले पुस २१ मा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुकक्लोज गरेको थियो । जसअनुसार पुस २० सम्म कायम कम्पनीका शेयरधनीले हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन् । त्यस्तै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यस्तै धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.