पोखरा उवासंघलाई देखिने र सुनिने बनाउने हुटहुटीमा बितेका २ वर्ष

गोकर्ण कार्की, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

२०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघसँग म २०५० को दशकमा साधारण सदस्यको रुपमा जोडिएको हुँ । कार्यसमितिमा दुई कार्यकाल उद्योगतर्फको उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष हुँदै २०८१ सालको भाद्र २८ र २९ गते सम्पन्न ३५औं महाधिवेशनबाट म अध्यक्षमा निर्वाचित भएको हुँ । अध्यक्षको प्रत्यासी भइरहँदा नै मैले ‘२ वर्ष मेरा व्यक्तिगत चाहनाहरुलाई खोपामा थन्क्याउने अनि व्यवसाय हैन, उद्योगी÷व्यवसायीका चाहनालाई बोकेर हिँड्ने’ घोषणा गरेको थिएँ ।

‘आफ्नो’ छाडेर ‘हाम्रो’ हितका निम्ति लाग्ने घोषणालाई बितेका २ वर्षमा मैले मूलमन्त्र बनाएँ । सचिवालयमार्फत् सदस्य महानुभावलाई आवश्यक पर्ने सेवा तथा सहयोग प्रदान गर्ने नियमित कार्यका अलावा नीतिगत पैरवी, यहाँका सरकारी, प्रशासनिक, शैक्षिक र सामाजिक संघ÷संस्थाहरुसँगको सहकार्यको परम्परालाई मैले निरन्तरता दिएँ ।

देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बन्न नसकेको साँचो हो । युवा पलायन तथा देशमै केही हुन्छ भन्ने भावना जागृत नहुँदाको प्रभावबाट निजी क्षेत्र अछुतो छैन । तर, चुनौतीको सामना गर्दै भएका अवसरलाई उपयोग गर्ने निजी क्षेत्रको चरित्र हो । निजी क्षेत्रको छाता संस्थाको नेतृत्व गरिरहँदा उद्योग÷व्यवसायमैत्री वातावरण निर्माणलाई हामीले पहिलो प्राथमिकतामा राखेका थियौँ । सुशासन र व्यवसाय मैत्री वातावरण हाम्रो चाहना थियो । कार्यकालको दोस्रो वर्षमा प्रवेश गरिरहँदा देशका नवयुवाहरुको विद्रोह भयो । जेनजी पुस्ताका मागहरुमा हाम्रो पनि सहमति थियो । २०८२ भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलन सुशासन, समृद्धि तथा नयाँ नेपाल निर्माणका निम्ति थियो भन्नेमा हामी सहमत छौँ । तर, भदौ २४ को अराजकतालाई चाहीँ हामी बिर्सन चाहन्छौँ । जेनजी आन्दोलनको नाममा भएको आपराधिक गतिविधिप्रति हामीले खेद व्यक्त ग¥यौँ । उद्योगी÷व्यवसायीको घरमै पुगेर सान्त्वना दिने तथा क्षतिको लगत निकाल्ने कार्यको पहलकदमी गरियो ।
पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति २०८२ भदौ ३१ गते पोखरामा बृहत शान्ति ¥यालीको आयोजना ग¥यौँ । संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको सो मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति गरिएको थियो । शान्ति ¥यालीमार्फत् हामीले व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमण अक्षम्य अपराध भएको सन्देश प्रवाहित ग¥यौं । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन र हामी शान्ति चाहन्छौँ भन्ने माग पनि राख्न सफल भयौँ ।

स्थिति असामान्य थियो । निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति एवं नागरिक समाज अनि जेनजी पुस्तासँग सहकार्यका निम्ति जेनजी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा रहनुभएका प्रतिनिधिहरुसँग छलफल कार्यक्रमको आयोजना गरियो । छलफलपछि मेरै संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन भयो । सो समितिमा भएको व्यापक छलफलपछि व्यावसायिक वातावरण निर्माण, शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने कार्यमा जेनजी पुस्तालाई पनि सहभागी गराउने निर्णयसमेत भयो ।

मेरो संयोजकत्वमा रहेको ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ तथा जेनजी (दुबै पक्ष) बीच जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने, जेनजी आन्दोलनको क्रममा २०८२ भदौ २३ गते भएको दमनको निश्पक्ष छानबिन गर्दै दोषीलाई कानूनी कारवाही माग गर्ने, २०८२ भदौ २४ गते जेनजीको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित परिस्थितिलाई मनन गर्दै तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारवाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय गरिएको व्यहोरा पनि म स्मरण गराउन चाहन्छु । सो अवसरमा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन, उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन एवं खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा ल्याउनका निम्ति दुवै पक्ष एकजुट भइ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरियो । अहिले सुन्दा सामान्य लागे पनि हाम्रो त्यो पहलले मनोवल गिरेका र असुरक्षित महसुस गरिहेका व्यवसायीलाई थोरै भए पनि आश्वस्त बनाउने काम भएको मैले ठानेको छु । सरकारी संरचनासमेत ध्वस्त भएको अवस्थामा व्यवसायी तथा आम नागरिकले प्राप्त गर्ने सेवा नरोकियोस् भन्ने ध्येयले हामीले ती संरचना निर्माणका निम्ति अग्रसरता लियौँ । त्यो उपक्रममा सहयोग गर्ने संघ÷संस्थाप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । त्यही सक्रियताबाट जेनजी आन्दोलनकै क्रममा ध्वस्त पारिएको जिल्ला मालपोत कार्यालय कास्कीसहित आन्तरिक राजश्व कार्यालयलगायत अन्य कार्यालयले तत्काल सेवा प्रवाह गर्न सकेको कुरा पनि म स्मरण गर्न चाहन्छु ।

सम्झन पर्ने विषयहरु धेरै छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन एवं समग्र गण्डकीको पर्यटन प्रवद्र्धन, राजमार्गहरुको छिटो स्तरोन्नति, संघ, प्रदेश र पालिकाको बजेट, विभिन्न विधेयक, मौद्रिक नीतिलगायतका विषयहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने, नवप्रवर्तनलाई बढावा, सदस्य महानुभावका निम्ति आवश्यक पर्ने तालिम, गोष्ठी, सेमिनार र भ्रमणको आयोजनालाई मैले केन्द्रमा राख्दै आएँ । संघलाई देखिने, सुनिने र आम सदस्य महानुभावको आस्थाको केन्द्र बनाउने मेरो ध्येय थियो । संघलाई देखिने बनाउने क्रममा हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन कक्षमा पोखरा चिनाउने डिस्प्ले बोर्ड राख्ने सफलता पायौँ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा विकास गर्ने हाम्रा अग्रजहरुको योजनामा यो कार्यले एउटा इट्टा थपेको मैले ठानेको छु । पोखराको पर्यटन प्रवद्र्धनको कुरा गरिरहँदा हामीले नेचर, कल्चरका साथै आरोग्य र साहसिक पर्यटनको विकासमा ध्यान दिनुपर्छ भन्ने आवाजलाई मैले विभिन्न फोरमहरुमा उठाउँदै आइरहेको छु ।

नीतिगत पैरवीको क्रममा मैले पोखरा महानगरसहित जिल्ला प्रशासनका विभिन्न समितिहरुमा पदेन सदस्यको रुपमा रहेर संघले करका दरहरु उद्योगी÷व्यवसायी मैत्री तुल्याउन, बजार अनुगमनका नाममा व्यवसायीहरुको मनोवल गिराउने गतिविधि नगर्न तथा लगानी मैत्री वातावरणका निम्ति त्यस्तै नीतिहरु ल्याउनका निम्ति दवाब दिएको तथा संघ, प्रदेश र पोखरा महानगरले ल्याएका कतिपय नीतिहरु संशोधन गराउन सफल भएको क्षण पनि म बिर्सने छैन । यसै उपक्रमा हामीले घरेलु मदिराको ब्राण्डिङ एवं गाँजाखेतीको वैधताका निम्ति नीतिगत पैरवी गरिरह्यौँ । गण्डकी प्रदेशमा माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूले हाम्रो कुरालाई गम्भीरतापूवर्क लिनुभयो । २०८१ को व्यापार मेला समुद्घाटनको क्षणमा उहाँले गाँजाखेती र घरेलु मदिरालाई वैधता दिने गरी विधेयक निर्माणको घोषणा गर्नुभयो । अहिले यी दुवै कार्यका निम्ति गण्डकी सरकारले कानुन बनाइसकेको छ । हामी यो कार्यका निम्ति गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।

पोखरा उद्योग वाणिज्य संघसँग निजी क्षेत्रको इतिहासमै पहिलोपटक सोझै जर्मनको माइञ्ज सहरमा रहेको हस्तकला संघ (ह्याण्डवर्कस्कामर राहिनहेसन् (एचडब्लके माइञ्ज, जर्मन) सँग ऐतिहासिक ‘चेम्बर पार्टनरसीप प्रोगाम’मा साझेदारी गरेको गौरवशाली इतिहास छ । १७ वर्ष लामो त्यो सहकार्यबाट हामीले ठूलो लाभ लियौँ । त्यसउप्रान्त अन्तर्राष्ट्रिय साझेदारी नभइरहेको परिपेक्ष्यमा मेरै कार्यकालमा जर्मनीकै सहयोग संस्था जीआइजेडको सहयोगमा संचालित दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) सँग सहकार्य भएको क्षणलाई पनि मेरो कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छु । यही कार्यक्रममार्फत् आन्तरिक राजश्व कार्यालय पोखरामा कर्मचारीसहित करदाता सहायता कक्ष स्थापना कक्षको स्थापना गरिएकोमा जेनजी आन्दोलनको क्रममा त्यसलाई ध्वस्त बनाइएपछि पुननिर्माण गरी २०८३ साल साउन १ गतेबाट सो सहायता कक्ष संचालन गरिएको जानकारी गराउन चाहन्छु । करदाता सहायता कक्षले उद्योगी÷व्यवसायीलाई सहजतामात्र प्रदान गरेको छैन, संघको गरिमा बढाएको मैले ठानेको छु ।

२०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघ हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको १२ वटा संस्थापक सदस्यमध्ये एक संस्था मात्र नभएर काठमाडौं बाहिरबाट त्यसको नेतृत्व गर्ने गौरवशाली संस्था पनि हो । यस संघका पूर्वअध्यक्ष श्री आनन्दराज मुल्मीले २०५४–२०५६ मा महासंघको सफल नेतृत्व गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा मैले महासंघसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रयत्न गरेँ । मेरो त्यो सत्प्रयासलाई महासंघका तत्कालीन अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल दाजुले सकारात्मक रुपमा लिनुभयो । उत्प्रेरणाा दिनुभयो र महासंघको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र चीन पठाउनु भयो । म उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । ६०औं वार्षिक साधारण सभामार्फत् पोखरा उद्योग वाणिज्य संघका एसोसियट सदस्यसमेत रहनुभएका श्री अञ्जन श्रेष्ठ महासंघको नेतृत्वमा पुग्नुभयो । २०८३ साल वैशाख २१ र २२ गते सम्पन्न ६०औं वार्षिक साधारण सभामा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट हाम्रा पूर्वउपमहासचिव श्री हीरा भट्टराई महिलातर्फ केन्द्रीय सदस्यको रुपमा निर्वाचित हुनुभयो भने महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठबाट मलाई उहाँ नेतृत्वको कार्यकारिणी समितिमा मनोनित गर्नु भएको छ । संघको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने अवसर प्राप्तिलाई मैले मेरो नभएर पोखरा उद्योग वाणिज्य संघको उपलब्धिको रुपमा लिएको छु ।

अध्यक्षको रुपमा मेरो कार्यकाल सकिएको छ । तर, निवर्तमान अध्यक्षको रुपमा म कार्यसमितिमै हुनेछु भने यो कार्यकालमा सुरु गरिएका असल अभ्यासलाई निरन्तता दिँदै नविन कार्यको थालनीमा म उत्तिकै सक्रिय रहने छु । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा केन्द्रसँगको सहकार्य, नीतिगत पैरवी र नयाँ परियोजना ल्याउने काममा पनि म निरन्तर लाग्ने नै छु । अन्त्यमा म मेरो कार्यकाल सफल तुल्याउन प्रत्यक्ष र परोक्ष रुपले सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

(पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश । सं.)

You might also like

Comments are closed.