गोसाइँकुण्ड मेला सम्पन्न

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले अ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरीे जिल्ला अस्पताल पु¥याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। औपचारिकरूपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिनसम्म अनौपचारिकरूपले तीन हजार ५०० भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरीको अनुमान छ ।विशेष मेला समापन भएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अनौपचारिक रूपमा आएका सबै यात्रुलाई सुरक्षाका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न लगाइएको जानकारी दिए ।

मेला भर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकावनपुर , कैलाली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घखाँची, कास्की, चितवान, महोत्तरीलगायत जिल्लाका भक्तजन त्यहाँ पुगेका थिए । पर्यटकका रूपमा विदेशीसमेत पुगेकोे स्थानीय व्यवसायीले बताए ।

पूर्णिमाका दिन हिन्दूका साथै बुद्वमार्गीले पनि गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्ने गर्दछन् ।

गङ्गा दशहरा तथा जनैपूर्णिमाका अवसरमा मात्रै बर्सेनि २० हजार भन्दाबढी भक्तजन पुग्ने यस तीर्थमा कोभिड –१९ को सङ्क्रमणका कारण गत वर्षदेखि औपचारिकरूपमा मेला बन्द गरिएकाले भक्तजनको चहलपहल हुन नसकेको स्थानीय होटल व्यवसायी पासाङ्ग्युर्मी तामाङले बताए । मेला स्थगन गरिए पनि आन्तरिकरूपमा भक्तजन तीर्थमा पुगेका थिए । यात्रु आउँदैनन् भन्ने सोचमा रहेका होटल व्यवसायीलाई एक्कासि यात्रुको चाप बढेकाले खानाको व्यवस्था मिलाउन हम्मेहम्मे परेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए ।

यात्रुको चापबढेसँगै थोरै मात्र खोलिएका लजले थेक्न नसकेकाले स्थानीयबासिन्दाले ठाउँठाउँमा टेण्ट राखी तत्काल बासस्थानको व्यवस्था मिलाएका तीर्थयात्री शिवराम न्यौपानेले बताए ।

हिमाली क्षेत्रमा तत्काल बासको व्यवस्थाले ठूलो सहयोग मिलेको केही तीर्थयात्रीको भनाइ थियो । अर्घखाँचीको मालारानी गाउँपालिका–७ को हङ्सपुरबाट आएका दीपक खनालले भने, “धार्मिक मार्गमा खानपिन र बसोबासको शुल्क ज्यादै महगो भएकोले आगामी दिन ध्यान पु¥याउन जरूरी छ । ”

You might also like
Ram Tulasi Palpa

Comments are closed.