राजकुमार पराजुली/काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् ।
अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० जनागालका युवा मुक्ति विष्टलाई हाल काभ्रेपलाञ्चोकका थुपै्र युवाले साथ दिइरहेका छन् । स्थानीय युवाले गुर्जो सङ्कलनमा साथ दिइरहेका छन् भने वितरणमा बनेपाका युवाले साथ दिइरहेको विष्टले बताए । “बितेको तीन हप्तामा करिब एक हजार ५०० किलो वितरण गरिसकेका छौँ, हाम्रो अभियान जारी छ”, उनले भने। हाल संस्थागतरूपमा आइसोलेशन, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, अस्पताललगायतका स्वास्थ्य संस्था तथा व्यक्तिलाई वितरण भइरहेको उनले बताए ।
कोरोनाका बिरामीका आफन्तले सम्पर्क गरी जनागालस्थित गुर्जो भण्डार केन्द्रबाट लैजाने गरेको विष्टले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष गुर्जो खाएका व्यक्तिले यस वर्ष पनि लगिरहेका छन् । दोस्रो लहरको कोरानाले जिल्लामा निकैलाई सङ्क्रमण फैलाएकाले आफू पनि अभियानको सहयोगी भएको भक्तपुर भङ्गालका कृष्णराम कार्कीले बताए । “म यस वर्ष गुर्जो वितरण अभियानमा साथ दिइरहेको छु, विशेषगरी गुर्जो सङ्कलनमा मेरो सहयोग रहेको छ”, उनले भने । उनि लगायत देवीटारका उद्धव चौलागाईँ, धुलिखेलस्थित पातलेखेतका विष्णु काभ्रेली, पनौतीका सौगात बस्नेत, बनेपाका हरिशरण सूर्यवंशी, कान्छा प्रधानलगायतले गुर्जो अभियानलाई साथ दिइरहेका छन् ।
अभियानकर्मीको हालको दिनचर्या आफैँ स्वास्थ्य सतर्कता अपनाउँदै गुर्जो सङ्कलन र वितरणको योजना बनाउँदै व्यस्त रहन्छ । टोलीलाई अहिले गाउँगाउँबाट गुर्जो लिन आउन खबर आइरहेको छ । विष्टले वितरण मात्र नभई गुर्जोको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको बताए ।
अघिल्लो वर्ष कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला गुर्जो–अभियानकर्मी युवाले चिया तथा मिठाइ पसलबाट शुरु गर्दै सर्वसाधारणदेखि उच्च ओहोदाका व्यक्तिसम्म गुर्जो पु¥याएका थिए । साथै कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खट्ने काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौँका अस्पताल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, जनप्रतिनिधि तथा स्थानीय तहका क्वारेन्टिनमा समेत ठूलो परिमाणमा निःशुल्क गुर्जो वितरण गरेको थियो । “गत साल राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि गुर्जो पु¥याएका थियौँ”, विष्टले भने ।
आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाटसमेत मुक्ति दिलाउने भएकाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खट्नेलाई निःशुल्क गुर्जो वितरण अभियान थालिएको विष्टले बताए । गुर्जो आवश्यकता भएकाले आफ्नो टिमसँग सम्पर्क गर्न र गुर्जो भएको स्थानका व्यक्तिले पनि सूचना दिएर सहयोग गर्न सबैमा अपिल समेत उनले गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला हाल गुर्जो मात्राअनुसार तातोपानीमा उमालेर रस पिउने गर्दा कोरोना भाइरस निको हुने विश्वास गरिन्छ । आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । यसका आँख्लाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।
सेता थोप्ला भएको बोक्रा पातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मुत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग गरिँदै आइएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ ।




Comments are closed.