बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित हिमालय आधारभूत विद्यालयलाई रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । वडा नं २ स्थित राखु भगवती र वडा नं ३ स्थित राखु पिप्ले घर भई बेलायतमा बसोबास गर्ने राखुवासीको साझा संस्था राखु समाजद्वारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पाँच लाख सात हजार ७ सय ३० रुपैयाँ सहयोग प्राप्त भएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा उक्त समाजका २६ जनाले सङ्कलन गरेको सो सहयोग रकम सदस्य अर्जुन मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गरेका थिए । कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भूबनोटका कारण गाउँकै पातिहाल्नामा स्थानान्तरण गरी पुनःनिर्माण गरिएको छ ।
सदस्य मल्लले प्रवासमा रहेर पनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आइरहेकामा विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उद्देश्यले सो सहयोग गरिएको बताए ।
हाल उक्त विद्यालयमा ७० विद्यार्थी अध्ययनरत छन् । पुनः निर्माण भइरहेको विद्यालय भवन निर्माणमा प्राप्त सहयोगलाई पारदर्शी तवरले उपयोग गरिने जानकारी दिंदै अध्यक्ष कटुवालले प्रवासमा रहेरसमेत गाउँको शैक्षिक विकासमा सघाएकामा उक्त समाज र सहयोगदातालाई धन्यवाद दिए । कार्यक्रममा सहयोगदाता मल्ललाई सम्मान गरिएको थियो ।
Comments are closed.