कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि ६७ लाख रुपैयाँ बजेट

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा ६७ लाख रुपैयाँ भन्दाबढी बजेट विनियोजन गरेको छ ।

साथै उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि रहेको बाँझो खेतीयोग्य जमीन उपयोगमा ल्याउनसमेत बजेट विनियोजन भएको सो जनाइएको छ । बाँझो जमीन उपभोग कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेटौँडाका साविक ११ वडा मात्र रहेका र पछि थपिएका वडामा बाँझो जमीन राखेर विदेश जाने खेत बाँझो हुने समस्या बढेको छ । बाँझो जमीनलाई खनजोत गर्ने तथा तरकारी र अन्नबाली उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर उक्त कार्यक्रम ल्याइएको छ ।

खेतीयोग्य जमीन बाँझो राखेर विदेश जाने र रोजगारीका लागि भौतारिने जस्ता कार्यबाट मुक्त गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । त्यस्तै चालू आर्थिक वर्षमा कृषिबाली क्षतिपूर्ति अनुदानका लागि पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

किसानले आफ्ना खेतबारीमा लगाएका बाली कुनै कारणले उत्पादन हुन नसके वा हानि नोक्सानी भएमा उक्त क्षतिपूर्तिको कार्यक्रम ल्याइएको हो । उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गाई, बाख्रा, बङ्गुर र पाडापाडीपालन प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

नगरका विभिन्न क्षेत्रमा गाई प्रवद्र्र्धन कार्यक्रमअन्तर्गत २१ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । लागत साझेदारीमा बङ्गुर प्रवद्र्धन कार्यक्रमका लागि चालू आर्थिक बर्षमा रु १० लाख छुट्याएर काम गर्न लागिएको प्रमुख महतले जानकारी दिए ।

त्यस्तै साना र व्यावसायिक बाख्राको उत्पादन पकेट विकास कार्यकमअन्तर्गत रु १५ लाख बजेट विनियोजन गरी उक्त कार्यक्रम शुरु गरिएको उनले बताए । साथै कृषि तथा पशुपक्षीसम्बन्धि तथ्याङ्क अध्यावधिक कार्यक्रम यो वर्ष गर्न लागिएको र त्यसका लागि एक लाख रुपैयाँ रकम छुट्याइएको छ ।

You might also like

Comments are closed.