काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा विशेष कार्यक्रम आयोजना गरेको छ ।
युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।
कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएस सम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको छ । विविध क्षेत्रबाट आएका नेपालीलाई अन्तर्राष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको छ ।
कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको छ । विभिन्न विधामा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको हो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरिएको जनाइएको छ ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ ।
यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिष्पर्धा गर्न सक्नेछन् । उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।
आइइएलटीएस उपहार अभियान
यसैबीच ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा आइइएलटीएस उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ भएको घोषणाले उत्साह थपिएको छ । सो सहकार्य अनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् ।
नयाँ सिजनमा आइइएलटीएस जाँच दिने विद्यार्थीले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाइ टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेश, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् ।
बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी ४ वटा एकतर्फी हवाइ टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आइइएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ ।
साथै सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेश उपलव्ध हुनेछ । यस अभियानमा सहभागी हुनका लागि उम्मेदवारले १५ अगस्ट २०२५ देखि ३१ अक्टोवरसम्म आइइएलटीएसको लिखित परीक्षा वा कम्प्युटरबाट परीक्षा दिनका लागि बुकिङ गर्दै रकम बुझाएको हुनुपर्नेछ । यसबारे विस्तृत जानकारीका लागि https://www.britishcouncil.org.np/ मा हेर्न सकिनेछ ।
अभियान शुभारम्भको क्रममा नेपालस्थित बेलायती राजदूत महामहिम रोब फेनले बेलायतको विश्वस्तरिय शिक्षा प्रणालीले कुनै पनि व्यक्तिको जीवनमा रुपान्तरण गर्न सक्ने अवसर सृजना गरेको बताए । ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले सबै साझेदार र सरोकारवालालाई उनीहरुको उत्कृष्ट कार्यसम्पादन र ब्रिटिस काउन्सिललाई गरेको सहयोगलाई उत्सवको रुपमा मनाउन एकै ठाउँमा भेला गर्न पाउनु खुशीको कुरा भएको जनाए ।
Comments are closed.