नासोँको निर्णय : अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा

मनाङ । नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै पालिका क्षेत्रको सडक तत्काल मर्मत गर्ने निर्णय भएको छ । बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासनसम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने, कार्यालयको सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउन बैठकको निर्णय तत्कालै वडा कार्यालयमा पठाउने र वेबसाइटमा राख्ने निर्णय गरेको छ भने विभिन्न विषयगत समितिसमेत गठन गर्ने निर्णय भएको छ ।

कार्यपालिकाको बैठकमा उपाध्यक्ष वेदबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिकाका सदस्यको उपस्थिति रहेको थियो । बैठकले नासोँ गाउँपालिकाकाले बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी गरेको छ। नीति, योजना तथा कार्यक्रम स्वीकृत आजसम्म गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर गुरुङले बताए।

नासोँ गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीको बाढीबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै तटबन्ध बनाउने कामलाई प्राथमिकतामा राखिएको र निर्माणको काम भइरहेको उनले बताए। जोखिम बस्तीको व्यवस्थापनका लागि गाउँपालिका सचेत रहेको उनले बताए।

You might also like

Comments are closed.