बाढीले क्षतिग्रस्त संरचना पुर्ननिर्माण र थप जनधनको क्षति हुन नदिन इप्पानको सुझाव

काठमाडौं । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा गत मंगलबार आएको बाढीले पुर्याएको धनजनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ ।

बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० बढी जलविद्युत आयोजनामा क्षति, नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाहमासमेत ठूलो क्षति पु¥याएको छ भने ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएको घटनाप्रति इप्पानले दुःख व्यक्त गरेको जनाएको छ ।

बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलवद्यिुत, २५ मेगावाटको त्रिशुली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङखोला जलविद्युतको उत्पादन बन्द भएको छ ।

यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशुली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशुली ३बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो । देवीघाट, त्रिशुली र त्रिशुली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधिन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाईमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।

त्यस्तै निर्माणाधिन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशुली ११ सय मेगावाटको सुपर त्रिशुली, ३७ मेगावाटको त्रिशुली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पु¥याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशुली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशुली ३बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

“टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौं गाडीसमेत बाढीले बगाएको, निर्माणाधिन सुख्खा बन्दरगाह पूर्ण रुपमा खण्डहर बनेको छ । नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीमा पारेको प्रभावप्रति पनि गहिरो दुःख व्यक्त गर्दछौँ” विज्ञप्तीमा उल्लेख छ । नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजश्व सङ्कलनमा समेत गम्भीर असर पार्ने हुँदा जति सक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि इप्पानको सरकारसँग आग्रह छ ।

बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जनासहित करिब १५० जना नागरिकको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताको लागि सम्वद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका छन् ।

बाढीमा परी ज्यान गुमाउनेप्रति श्राद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता हुनेको संख्या बढीरहेको र बाढीको जोखिम पनि कायमै रहेकोले नेपालका सबै नदी बेसिनमा बस्ने स्थानीयबासिन्दालाई उच्च सतर्कता अपनाउन महासचिव बलराम खतिवडाको अनुरोध छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.