काठमाडौं । यस वर्षको ‘ऊर्जा ज्योति सम्मान, २०८२’ बाट वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउने एक जनालाई हरेक वर्ष ऊर्जा ज्योति सम्मानबाट सम्मानित गर्दै आएकोमा यस वर्षको सम्मान अधिकारीले पाएका हुन् ।
मंगलबार इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जामन्त्री दिपक खड्का, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, इप्पान अध्यक्ष गणेश कार्की र ऊर्जा ज्योति सम्मानका संस्थापक इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंलगायतका अतिथिहरु माझ अधिकारीलाई नगद रु १ लाख रुपैयाँको चेक र सम्मानपत्रसहित सम्मानित गरेका हुन् ।
इप्पानका पूर्वअध्यक्ष गुरागाईंले उनकी स्व. छोरी श्रीनिका गुरागाईंको स्मृतिमा वि.स.२०७६ सालमा ‘ऊर्जा ज्योति सम्मान’ स्थापना गरेका थिए । कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई इप्पानको साधारणसभाको अवसर पारेर हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ । नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए ।
विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन् । सार्वजनिक पदमा नरहँदा पनि निजी क्षेत्रलाई सङ्कुचित बनाउने गरी चालिएका विभिन्न सरकारी कदमको तर्क र तथ्यसंगत खण्डन गर्दै ऊर्जा विकासमैत्री वातावरणकालागि निरन्तर खबरदारी गरिरहने व्यक्तिको रुपमा अधिकारी निजी क्षेत्रमाझ परिचित छन् ।
सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले नेपालको ऊर्जा विकासमा छोटोे समयमै अभूतपूर्व नतिजा दिएको निजी क्षेत्रको छाता संस्था इप्पानले गरेको सम्मानबाट ऊर्जा क्षेत्रमा थप क्रियाशिल रहन उत्प्रेरित गरेको बताए । “पूर्वप्रधानमन्त्री देउवाको हातबाट नगद एक लाख रुपैयाँ सहितको ‘इप्पान उर्जा ज्योती सम्मान २०८२’ ग्रहण गर्दै गर्दा बिद्युत क्षेत्रको विकास र प्रवर्द्वनमा थप उत्साहित भइ समर्पित भइरहने प्रेरणाका साथ गौरवान्वित महसुस गरेको छु” अधिकारीले भने ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै उर्जा विकास मार्फत देशको सामाजिक, आर्थिक रुपान्तरणसहितको समृद्धि हासिल हुने बिश्वास व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाको साथ, समर्थन र योगदान महत्वपूर्ण रहने पनि बताए । “खासमा जलबिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उँचा रहेकाले मैले प्राप्त गरेको आजको यो सम्मान नेपालको समग्र निजी क्षेत्रलाई ‘डेडिकेट’ गर्न चाहन्छु” अधिकारीले भने ।
Comments are closed.