युवराज विष्ट, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १ सय ८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो ।
वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ गरी १ सय ८ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको कार्यालयले जनाएको छ ।
वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरुपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उनको भनाइ छ । वडाध्यक्ष नेपालले भने, “ जनतालाई निर्वाचनको बेला दिएको वचनअनुसार वडाले २० लाख रूपैयाँ विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुनः सहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १ सय ८ घर विपन्नको फुसको छानो हटाउन सफल भयौँ ।”
आर्थिक अवस्था कमजोर भएका कारण वर्षांैदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष नेपालले बताए ।
वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रुपमा काम गरिरहेको जनाइएको छ । “ वडाको सबै ठाउँमा विद्युत् विस्तार भएको छ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ । सबै टोलमा कृषि सडक खनेका छौँ । पानीको समस्या समाधान गरिएको छ भने सिँचाइ आयोजना निर्माणको तयारीको अन्तिम चरणमा छ,” वडाध्यक्ष नेपालले भने ।
विपन्न परिवारको आर्थिक अवस्था सुधार्न विपन्न लक्षित अन्य कार्यक्रम सञ्चालन भइरहेको छ । आफ्नो क्षेत्रलाई नमूनासँगै व्यवस्थित बनाउन योजनाबद्ध रुपमा अभियान सञ्चालन गरेको वडा कार्यालयको भनाइ छ । स्थानीयवासी कृष्ण गिरीले भने, “ वडाले वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएकालाई लक्षित गरेर जस्तापाताको छानो लगाइदिनु राम्रो काम हो ।”
वडाले थोरै बजेटमा स्थानीयवासीको औचित्य र आवश्यकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकामा सन्तुष्ट रहेको स्थानीयवासी चिनीमायाँ भारतीले बताईन् । भारतीले भनिन्, “ वडाले जनताको समस्या तथा आवश्यकताका आधारमा योजना सञ्चालन गरेको छ । कृषि उपजलाई सहज रुपमा बजारसम्म बिक्रीका लागि लैजान सकेका छौँ ।”
वडाको सबै घरमा केन्द्रीय विद्युत् प्रसारणलाइन विस्तार भएको वडा कार्यालयले जनाएको छ । साबिकमा एक मात्र वडा रहेकामा देश सङ्घीय संरचनामा गएसँगै यस ठाउँलाई दुई वडामा विभाजन गरिएको हो । नयाँ वडा कार्यालय स्थापना गरेर जनतालाई चाहेअनुसारको सेवा दिएको वडाध्यक्ष नेपालको भनाइ छ । अहिले वडा परिसरमा स्वास्थ्य कार्यालयको स्थापना भएको छ । वडाध्यक्ष नेपालले भने, “यो ठूलो भूगोल भएकाले दुईवटा वडामा विभाजन गरेर जनतालाई सेवा दिएका छौँ ।”
भौगोलिक विकटताका कारण विद्युत् विस्तारका लागि एक परिवारका लागि रु पाँच लाखसम्म खर्च भएको उनको भनाइ छ । वडाका सबै घरमा विद्युत् विस्तार भए पनि नियमित विद्युत् नआउँदा स्थानीयवासीले समस्या भोग्नु परेको उनको भनाइ छ ।
“हामीले वडामा विद्युत् विस्तार गर्न सफल भएका छौँ । विद्युत् विस्तारपछि यो ठाउँ प्रविधिमैत्री भएको छ । वडावासीले विद्युत् गृह सञ्चालनमा ल्याउन सहयोग गरेका छन्,” उनले भने, “तर ती विद्युत् गृहबाट उत्पादन भएको विद्युत् हाम्रा जनताले किन उपभोग गर्न नपाउने ? यसका लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ । ”
हालसम्म वडा नं ६ कोट, वडा नं ४ नागी र वडा नं ३ अन्नपूर्ण पूर्णरुपमा फुसको छानोमुक्त भएका छन् भने वडा नं ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने, “हामीले जनताको आवश्यकताअनुसारका आयोजना सञ्चालनमा ल्याएका छौँ । तीनओटा वडा पूर्णरुपमा फुसको छानोमुक्त भएका छन् । अन्य तीन वडामा पनि फुसको छानो हटाउने अभियान चलिरहेको छ । हाम्रो गाउँपालिकाको नौवटै वडामा विद्युत् विस्तार भइसकेको छ । गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको मेहनतको फल हो । हामी प्रदेश १ मा पूर्ण उज्यालो गाउँपालिका घोषणा गर्न सफल भइसकेका छौँ ।”
Comments are closed.