चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका दाबेदार किरण आचार्यले भरतपुरलाई आधुनिक, व्यवस्थित र आर्थिक रूपमा सबल महानगर बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
समयको माग र भविष्यको आवश्यकतालाई बुझेर महानगरको विकास गर्नुपर्ने बताउँदै आचार्यले भरतपुरलाई २४ घण्टा सञ्चालन हुने सहरका रूपमा विकास गर्ने अवधारणा अघि सारेका हुन्।
उनका अनुसार बजार, सेवा तथा आवश्यक व्यवसायलाई सुरक्षित वातावरणसहित चौबीसै घण्टा सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन सके महानगरको आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारीका अवसरसमेत बढ्नेछन्।
त्यस्तै, भरतपुरमा 7/11 जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा व्यवसाय भित्र्याउने उनको अर्को योजना छ। अन्तर्राष्ट्रिय स्तरका व्यवसायलाई महानगरमा आकर्षित गर्दा स्थानीय युवाले रोजगारी पाउनुका साथै व्यवसाय सञ्चालन, व्यवस्थापन र आधुनिक कार्यशैली सिक्ने अवसर प्राप्त गर्ने आचार्यको विश्वास छ।
आचार्यले युवालाई आफ्नै सहरमा भविष्य निर्माण गर्न सक्ने वातावरण तयार पार्न शिक्षा, सीप र उद्यमशीलतालाई एकसाथ जोड्ने योजना पनि अघि सारेका छन्। निजी क्षेत्रसँग सहकार्य गरी नयाँ लगानी, व्यवसाय, पर्यटन तथा आर्थिक गतिविधि बढाउने उनको प्राथमिकतामा छ।
उनले सार्वजनिक गरेका यी योजना केही उदाहरण मात्रै भएको उल्लेख गर्दै समयको माग र भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने अन्य दूरदर्शी योजनासमेत आफूसँग रहेको बताएका छन्।
‘हाम्रो लक्ष्य केवल सहर चलाउनु होइन, भरतपुरलाई भविष्यको सम्भावना बोकेको उत्कृष्ट महानगर बनाउनु हो,’ आचार्यको भनाइ छ।
आधुनिक सोच, स्पष्ट योजना र दृढ कार्यान्वयनबाट मात्रै समृद्ध भरतपुर निर्माण सम्भव हुने उनको दाबी छ।






Comments are closed.