नेपाली उत्पादन र उद्यमीलाई प्रोत्साहन गर्दै ‘पोज फेसन’

-दीपा रेग्मी/काठमाडौं

काठमाडौंको पुरानो बानेश्वर चोकबाट सिनामंगल जाने बाटोको १०० मिटरको दूरीमा दायाँ पट्टी (भित्र) छ– पोज फेसन ।
गत हप्ता हामी पोज फेसनकी सञ्चालक कुन्तीदेवी पोख्रेललाई भेट्न पुग्यौं । पोज फेसनको विल्डिङको दोस्रो तल्लाका केही समय कुराएकी व्यस्त कुन्ती आइ पुगिन् । उनी व्यस्त धेरै कारणले छिन्, उनको पहिचान धेरै तिरबाट जोडिएको छ । एकै बसाईंमा लेख्न सम्भव छैन पनि । साह्रै व्यस्त हुनुहुन्छ है ? अधिक व्यस्तताका बाबजुत पनि शान्त कुन्तीले छोटोमा जवाफ दिइन्, ‘ठिकै ।’

हामीलार्ई उनको व्यस्तताको पाटो धेरै कोट्याउनु थिएन । व्यवसाय कसरी चल्दैछ भन्ने सन्दर्भबाट कुरा शुरू भयो । उनले सबैको व्यवसायको अवस्था एउटै भएको भूमिका बाँध्दै भनिन्, ‘व्यवसाय त्यति राम्रो पनि छैन, नराम्रो पनि छैन, घाटामा छैन भनौं न ।’

‘ब्याग मात्र किन ? कुर्ता सुरुवाल,बच्चाका कपडा पनि बनाऔं न ।’ यस विषयमा सोच्दै नसोंचेकी कुन्तीलाई प्रस्ताव उत्तम लाग्यो । ‘मैले २० ओटा मेसिन किनेर तत्काल कपडा तयार गर्ने व्यवसाय शुरू गरें’

धेरै सुनिएको तर राम्ररी नबुझेको पोज फेसनकोे बारेमा जान्नु थियो ।‘ नेपाली मन, नेपाली पन’ भन्ने थिमसहितको पोज फेसन पक्कै पनि नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने व्यवसाय भन्नेमा छ, शंका थिएन ।

कुन्तीले थपिन्, ‘हो, नेपाली समाजले उत्पादन गरेको नेपाली कपडा नेपालीले लगाउन भनेर मैले गार्मेन्ट शुरू गरेकी हुँ । तर विडम्बना नै भन्छु म हामीले सिगो, धागो देखि कच्चा पदार्थ सबै बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । यसलाई अहिले यसलाई म नेपाली उत्पादन भनौं कि नभनौं को अवस्थामा छु, यसलाई नेपाली उत्पादन भन्न पनि सुहाएन, विदेशबाट कच्चा पदार्थ ल्याएर बनाएको भनौं न ।’

कोभिडको महामारीले संसार त्रस्त थियो । त्यसैको बिचोबीचमा पोस फेसनको कन्सेप्टले जन्म लिएको हो । यसलाई जन्माउँदाको प्रसंग ल्याउँदा पृष्ठभूमिमा जानुपर्ने हुन्छ । सामाजिक काममा क्रियाशिल कुन्ती कोरोना महामारीका बीचमा पनि विभिन्न जिल्लामा महिला उद्यमीको छाक टार्न कसरी सकिन्छ भनेर चिन्तित थिइन् । उनले भनिन्,‘दाल चामल बाँढ्ने मात्र ठूलो कुरा थिएन, त्यो त हामी गर्दै आएका थियौं,तर ती उद्यमी महिलाको उद्यमशीलताबाटै केही उपार्जन गरौं भन्ने थियो ।’

कुन्तीले ४० जिल्लामा पुगेर सयौं महिलालाई उद्यमशिल बन्नका लागि तालीम दिएकी थिइन् । तिनै उद्यमी महिलालाई परिचालन गरेर सपिङ ब्याग बनाउन पाए हुने भन्ने लाग्यो । उनले जसोतसो मेसिन र कच्चा पदार्थ जुटाएर उद्यमी महिलाको घर घरमा पुराइन् । उद्यमीले ब्याग उत्पादन गर्थे,उनले त्यसलाई बजारीकरणमा सहयोग गर्थिन । उद्यमी महिलाहरूले प्रस्ताव राखे, ‘ब्याग मात्र किन ? कुर्ता सुरुवाल,बच्चाका कपडा पनि बनाऔं न ।’ यस विषयमा सोच्दै नसोंचेकी कुन्तीलाई प्रस्ताव उत्तम लाग्यो । ‘मैले २० ओटा मेसिन किनेर तत्काल कपडा तयार गर्ने व्यवसाय शुरू गरें ,’ पोज फेसन जन्मिँदाको प्रसंग रमाइलोसँग कुन्तीले सुनाइन् ।

‘राज्यले बनाउने नीति व्यवसायीमैत्री बन्नुपर्छ , नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न, नेपाली उत्पादनलाई प्रयोगमा ल्याउन, घरघरमा उद्यमी जन्माउनको लागि अभियान चलाउनुपर्छ ’

jutta mela

थोरै थोरै गर्दै लघु उद्यम भनेर गरिएको व्यवसायको लगानी १० करोडभन्दा माथि पुगिसकेको छ । पोजमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले लगाउने कपडा बन्दै आएका छन् । कपडा बनाउँदा हाम्रो नेपाल उत्पादनको रूपमा अल्लो लगायतका कपडालाई हामीले प्राथमिकता दिने पोजले सबै खालका कपडा उत्पादन गरिरहेको छ । उनले कपडाको हकमा नेपालीले लगाउने सबै खालका कपडा उत्पादन गर्ने सोचका साथ काम गरिरहेको कुन्तीले बताइन् ।

किन त ? उनले भनिन्, ‘कपडा बनाउँदा नेपाली मौलिक फेसनमा पनि जानुपर्छ भन्ने हामीलाई लागेको हो तर कतिपय अवस्थामा बजारको मागमा पनि निर्भर रहनुपर्ने हुनाले हामी पूर्णरूपमा त्यसमा जान सकेनौं ।’ पोजले अहिले बजारमा आएका माग र फेसनलाई नै प्राथमिकता दिँदै आएको छ । यसो गर्नुको कारण कम्तिमा बजारले मागेका कपडा विदेशबाट तयारी भएर नआउन भन्ने रहेको उनको भनाइ छ । ‘किनकी तिनै कपडा विदेशबाट ल्याइएको लगाउन भन्दा कुनै न कुनै रूपमा हामीले तयारी गर्दा राज्यको अर्थतन्त्रमा केही योगदान दिन सक्छौं । विस्तारै यसका संभावनको खोजी गर्न सक्छौं, रोजगारीको सृजना गर्न सक्छौं भन्ने पनि हो ,’ उनले भनिन् ।

कोभिडको महामारी पछि काठमाडौं उपत्यकामा पोजका १२ ठाउँमा आउटलेट थिए । सबैतिर एकै पटक बिस्तार गर्ने लक्ष्यसाथ अगाडि गरेको पोजको यो प्रयासमा भने ब्रेक लाग्यो । ‘आउटलेटमा खर्च महंगो थियो तर प्रतिस्पर्धा बढी देखियो, हामी मौलिक बन्न खोजे पनि प्रतिस्पर्धा बाहिरबाट आउने तयारी कपडाहरूसँग भयो, ’ कुन्तीले भनिन्, ‘ बजारमा नाम चलेका ठाउँका व्यापारीहरुको व्यापार कसरी चले होला भनेर म अचम्मित भएँ, हामीले सामान्य भन्दा सामान्य राख्दा पनि बजारमा अरुको सामानमा मूल्य धेरै सस्तो हुने त्यो कसरी संभव भयो ?’ खुलिसकेका आउटलेट आफ्नै उत्पादनले प्रतिस्पर्धा गर्न नसके पछि एकपटक बाहिरबाट ‘रेडिमेड’ कपडा ल्याएर बेचौं भन्ने पनि लाग्यो । ‘यस्तो देखेपछि मैले इण्डियाबाट कपडा ल्याएर पनि हेरें तर पनि प्रतिस्पर्धा गर्न सक्ने देखिन, यसको प्रमुख कारण कपडा भित्र्याँदा कर छलिन्छ जस्तो लाग्यो , यसरी प्रतिस्पर्धा गर्न अलि हतार गरियो कि भन्ने लागेर मैले आउटलेट बन्द गरें,’ उनले भनिन् ।

व्यवसायबाट कुन्ती थाकेकी होइनन् केही रणनीति परिवर्तन गरेकी मात्र हुन् । पोजले अहिले आफ्ना उत्पादनलाई विदेशमा पुर्याउनको लागि संभावना खोजिरहेको छ । अमेरिका, अष्ट्रेलिया र बेलायतमा स्याम्पल पठाएको उनले बताइन् ।

कुन्ती नेपाली उत्पादनको बजारीकरणको संभावना देख्छिन् । राज्य यसको सहयोगी बन्नुपर्ने उनको तर्कछ । ‘राज्यले बनाउने नीति व्यवसायीमैत्री बन्नुपर्छ , नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न, नेपाली उत्पादनलाई प्रयोगमा ल्याउन, घरघरमा उद्यमी जन्माउनको लागि अभियान चलाउनुपर्छ, ’ उनले भनिन्,‘म आफ्नै पहलमा ४० जिल्लामा पुगेर उद्यमी जन्माउनको लागि होमिएको मान्छे हुँ , उद्यमीहरूको समस्या, भएको उत्पादनको पनि बजार भएन भन्ने छ । ’

नेपाली उत्पादनको गुणस्तर कम छैन न त मूल्य नै विदेशीको भन्दा बढी हुन्छ तर उपभोक्ताले पनि विदेशीलाई प्राथमिकता दिने प्रवृत्ति उत्तिकै छ । उनी आफैले ५०० जनालाई प्रत्यक्ष रोजगारी दिएर उद्योग शुरू गरेकी थिइन् । उनले उत्साहमा कता कता ठेस लगाउने र निरुत्साहित गर्ने काम भएको आफूले अनुभव गरेको बताइन् । विदेशका तयारी कपडालाई कमी गर्न सकेको अवस्थामा नेपाली उद्यमीले सफलता हासिल गर्ने उनको भनाइ छ ।

‘हाम्रो उत्पादन पनि उपभोक्ताको मनमा बसेका छौं भन्ने लागेको छ, अहिले पोजका ब्रान्डलाई उपभोक्ताले माया गर्नुभएको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिनको लागि नेतृत्वमा रहेकाहरूले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।’

‘अहिले धेरै कर्मचारी कटौती गरेको छु, तीनओटा फ्याक्ट्रीबाट एउटामा झारेको छु , नेपाली उत्पादनलाई माया गर्न सकेको अवस्थामा सफल भइन्छ भन्ने मेरो भोगाइ हो,’ उनले भनिन् । अहिले त विदेशी ब्रान्डेड कम्पनीको नक्कली ट्यागलाई खुबै प्राथमिकता दिइने तर आफ्नो मौलिक ब्रान्डलाई प्राथमिकता नदिइएको उनको गुनासो छ । ‘हाम्रो गुणस्तर छैन भने सुझाव दिन सकिन्छ तर ब्रान्डका नाममा नक्कली ब्रान्डलाई काखी च्याप्ने नेपाली ब्रान्डलाई वेवास्ता गर्ने काम भएको छ, ’उनले भनिन्, ‘हाम्रो उत्पादन पनि उपभोक्ताको मनमा बसेका छौं भन्ने लागेको छ, अहिले पोजका ब्रान्डलाई उपभोक्ताले माया गर्नुभएको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिनको लागि नेतृत्वमा रहेकाहरूले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।’

नेपाली उत्पादन विश्व व्यापारमा प्रतिस्पर्धा गर्ने अवस्थामा रहेको उनको भनाइ छ । लघुउद्यमको माध्यमबाट आवश्यक जनशक्ति परिचालन गर्न सके प्रभावकारी हुने उनको भनाइ छ । ‘लगानीको कुरामा, निकासीको कुरामा, कच्चा पदार्थको आयातमा पनि सरकारको साथ आवश्यक छ , सबैभन्दा ठूलो कुरा सरकारको नीति प्रभावकारी हुन आवश्यक छ, ’ कुन्तीले भनिन्, ‘सरकारले व्यवसाय भने पछि खाली ठूला व्यवसाय मात्र हेर्न भएन आम नागरिकको सहभागीतामा उद्यम विकासमा प्राथमिकता दिनुपर्छ ।’

नीतिगत सुधार नीतिमा मात्र होइन राजनीतिक हस्ताक्षेप नै आवश्यक रहेको उनको भनाइ छ । मोबाइलमा फोन आइरहेको थियो, बसाईं टुंग्याउँदै उनले भनिन्, ‘उत्पादन प्रवद्र्धनमा तीन तहका सरकारले सहजीकरण गर्नुपर्छ , कम्तीमा नगरपालिका, गाउँपालिकाले कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने सामग्री नेपाली उद्यमीबाट उत्पादित सामग्रीको प्रयोगलाई बढाउन सकेको अवस्थामा राम्रो हुन्छ ।’

 

You might also like

Comments are closed.