शान्ति र सहकार्यका लागि लेखनाथ उद्योग वाणिज्य संघको अपिल

पोखरा । देशमा पछिल्लो समय विकसित घटनाक्रम र यसले निम्त्याएको असामान्य अवस्थाप्रति लेखनाथ उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीद्वारा जारी विज्ञप्तिमा जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

भ्रष्टाचारमुक्त देश र उत्तरदायी शासन व्यवस्थाका लागि जेनजी पुस्ताले देखाएको साहसलाई संघले सहना गरेको भए पनि आन्दोलनका क्रममा भएको घुसपैठ, अवाञ्छित गतिविधि, आगजनी, तोडफोड र लुटपाटले दुःखित बनाएको उल्लेख गरेको छ ।

संघले निजी क्षेत्र र व्यवसायिक प्रतिष्ठानमाथिको आक्रमणलाई व्यक्तिको सम्पत्ति अधिकारको हनन मात्र नभई कर तिर्ने समूहलाई निराश तुल्याउने र युवालाई रोजगारीको अवसरबाट वञ्चित गर्ने कार्यको रूपमा व्याख्या गरेको छ । संक्रमणकाल लामो समय कायम रहे अराजकता फैलने सम्भावना बढी हुने भन्दै संघले संयम र धैर्यता आवश्यक रहेको जनाएको छ ।

शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई अझ सक्रिय हुन आग्रह गर्दै आमनागरिक र निजी क्षेत्रलाई पनि सो अभियानलाई सघाउन आह्वान गरेको छ । संघले व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन, आफ्ना व्यवसायको सुरक्षा प्रबन्धमा सचेत रहन समेत अनुरोध गरेको छ ।

यस्तै, राष्ट्रपति र प्रधान सेनापतिबाट जेनजी पुस्तालाई वार्ताको टेवुलमा बस्न आग्रह भइसकेको भन्दै लेखनाथ उद्योग वाणिज्य संघले जेनजी पुस्तालाई तत्काल वार्तामा बस्न र संक्रमण अन्त्य गर्ने कदम चाल्न हार्दिक अपिल गरेको छ ।

You might also like

Comments are closed.