‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार : समृद्ध माछापुच्छ्रेको आधार’

कृष्ण दवाडी/कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार : समृद्ध माछापुच्छ्रे’को मूल आधारको नारालाई साकार पार्दै मानव जीवन रक्षालाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक कृष्णकुमारी दवाडीले बिहीबार आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरिन् ।

कूल बजेटमा चालू खर्चतर्फ रु ३५ करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगततर्फ रु २१ करोड ५५ लाख ४८ हजार ४७१ विनियोजन गरिएको छ ।

पूँजीगततर्फ पूर्वाधार विकासमा रु १४ करोड २२ लाख २० हजार,सामाजिक विकास तर्फ रु पाँच करोड १७ लाख ४३६, आर्थिक विकासमा रु एक करोड ३८ लाख ७८ हजार ५४७, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४८ लाख ९९ हजार ४८८ र सुशासन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहतर्फ रु २८ लाख ५० हजार छुट्याइएको छ ।

नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रही प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउनेतर्फ बजेट कार्यक्रम लक्षित रहेको उपाध्यक्ष दवाडीले बताइन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक साधन स्रोतको सुनिश्तिता र क्वारेन्टिन निर्माण, सञ्चालन, औषधी उपकरण तथा कोष स्थापनाका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । गाउँपालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी विभिन्न सडकहरुको स्तरोन्नति तथा मर्मत सुधार, मानव संसाधन विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषणमा बजेटले जोड दिएको छ ।

यसैगरी कृषि सेवा ,पशु सेवा,पर्यटन,वन तथा वातावरण क्षेत्रको विकास, विस्तार र संरक्षण र कोरोना महामारीका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर बृद्धि गर्न उद्यम विकास कार्यक्रम सञ्चालन बजेटको प्राथमिकतामा बजेट कार्यक्रममा छ ।
लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका लागि आयमूलक तथा क्षमता विकासका कार्यक्रम संचालन, कोभिड १९ को कारण अति प्रभावित पर्यटन व्यवसाय होटेल तथा होमस्टेहरुलाई व्यवसाय दर्ता नवीकरणमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने र अन्य व्यवसायलाई २५ प्रतिशत छुट प्रस्तुत बजेट कार्यक्रमा उल्लेख छ ।
गाउँपालिकाभित्र कुनै पनि व्यवसाय महिलाको नामबाट व्यवसाय दर्ता भएमा त्यस्तो व्यवसाय दर्ता गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिइने र सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुंचमा अभिवृद्धि गर्ने बजेटको प्राथमिकता रहेको उपाध्यक्ष दवाडीले बताइन् ।

You might also like

Comments are closed.