रासायनिक मल खरिद गर्न सरकारले १६ अर्ब अनुदान दिने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन् । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे।

“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उनले भने।

अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उनको भनाइ छ। अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे। “भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो ऊर्जाको आवश्यकता पर्छ”, गृहमन्त्री खाणले भने।

jutta mela

अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पारे। नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उनको भनाइ छ ।

शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उनले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राखे। सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताए। “उद्यान विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ”, उनले भने।

कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेशसभाका सदस्य तुल्सी चौधरी र पुष्पा थरुनीले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताए।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले उक्त उद्यानको विकासका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताइन। गाउँपलिकाका प्रवक्ता केशवप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन उद्यानमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कङ्गारु, उट, डाइनोसरलगायत जनावर र चराका आकृतिका मूर्ति राखिएका छन् ।

किनारमा पाम ट्री, गौतमबुद्धको मूर्ति र वाटर फाउण्टेनले उद्यानलाई थप आकर्षक बनाएको छ। उद्यानको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ। उद्यान अवलोकनका लागि आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ। शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराइले रु तीन करोडको गुरुयोजना बनाएर उद्यान निर्माण गरिएको जानकारी दिए ।

You might also like

Comments are closed.