काठमाडौं । नेपालको ईभी बजारमा एमजी एक स्थापित ब्रान्ड हो । पाँच वर्षअघि जेडएस ईभी आयात गरेर ईभी बजारमा प्रवेश गरेको एमजीको नेपालका लागि आधिकारिक बितरक पारमाउन्ट मोटर्सले हाल सोही ईभीको परिष्कृत भर्सन एस५ सहित एमजी४ र कोमेट गरी तीन मोडल आयात गर्दै आएको छ । यी तीन मोडलमा जेडएस ईभी बिक्रीका हिसावले सर्बाधिक सफल मोडल मानिन्छ । एस५ को भने कम्पनीले हालै बुकिङ खुला गरेको छ ।
जेडएस नेपाल आएलगत्तै यसले निकै आक्रमक गतिमा बजार लिन सफल भयो । नेपाल आएको सुरुवाती दुई वर्षमा यस गाडीले धेरै ईभी पारखीको मन जित्यो पनि । जब, आर्थिक वर्ष २०७९÷८० को बजेटमा भन्सार र अन्तशूल्क अत्याधिक बृद्धि भयो त्यसपछि भने जेडएस ईभीको बिक्रीमा एकाएक ब्रेक लाग्यो । बजेटमार्फत बृद्धि भएको भन्सार र अन्तशुल्कलाई देखाएर पारमाउन्ट मोटर्सले १ वर्षसम्म नयाँ गाडीको आयात नै बन्द ग¥यो ।
जेडएस ईभीको फेसलिफ्ट भर्सन स्ट्यान्डर्ड र लङ रेन्जमा आउने भन्दै कम्पनीले मूल्य नै तोकेर यसको बुकिङ लिएको थियो । बुकिङ खुलेको २ दिनमै ५०० हाराहारी जेडएस ईभी बुकिङ भएपनि पछि बजेटमार्फत कर बृद्धि भएको भन्दै कम्पनीले ग्राहकलाई बुकिङ वापतको रकम फिर्ता लिन दबाद दियो । ५०० जना ग्राहकबाट १ लाखका दरले ५ करोड उठाएर कम्पनीले यसलाई केही महिना चलाएपछि पुरानो मूल्यमा गाडी दिन नसक्ने भन्दै बुकिङ बापतको रकम फिर्ता दिन दबाब बढायो । जसका कारण २०७९ जेठ र असारमा गाडी डेलिभरी पाउने प्रतिक्षा गरेर बसेका ५०० जना ग्राहकमध्ये १ जनाले पनि जेडएस ईभी हात पार्न सकेनन् ।
गाडीको मूल्य तोकेर बुकिङ बापतको रकम लिएपछि पुरानै मूल्यमा गाडी डेलिभरी दिनुपर्ने कम्पनीको नैतीक जिम्मेवारी थियो । तर, पारमाउन्ट मोटर्सले आफ्नो नैतिकता नै बिर्सेर जसरी भएपनि बुकिङ रद्ध गर्न ग्राहकलाई दबाद दियो र पछि १ वर्षसम्म गाडीको आयत नै बन्द ग¥यो । पारामाउन्ट मोटर्सको उक्त कदमले धेरै ईभी पारखीलाई रुष्ट मात्रै बनाएन, सामाजिक सञ्जालमा एमजी ब्रान्डलाई वहिस्कार नै गर्नुपर्ने सम्मको आवाज समेत उठ्यो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटले करको संरचनालाई केही खुकुलो बनाएपछि कम्पनीले त्यसअघि तोकेको पुरानो मूल्यमा जम्मा ५० हजारमात्रै मूल्य बृद्धि गरेर जेडएस ईभीको पुनः बुकिङ खोले पनि उक्त समय बजारमा अन्य थुप्रै ब्रान्डका ईभी समेत आइसकेकाले यसले खासै बजार लिन सकेन । पछि कम्पनीले आफूँसंग भएको स्टक सल्टाउन नाडा अटो शो–२०२४ मा एउटै गाडीमा ६ लाख छुट दिएर जेडएस ईभीको नेपाल यात्रा सधैंका लागि बन्द गर्यो ।
जेडएस ईभीको आयात बन्द गरेर पारमाउन्ट मोटर्सले अहिले एस५ बिक्री गर्ने भन्दै यसको बुकिङ लिन थालेको छ । सुरुवाती मूल्य ४४ लाख तोकेर बुकिङ लिन थालिएको यस ईभीको हविगत पनि बिगतमा जेडएस ईभीको जस्तै हुने त हैन भन्ने प्रश्च चिन्ह खडा भएको छ ।
हाल बुकिङ भएको एस५ लाई चैत महिनाभित्र डेलिभरी दिइसक्ने पारामाउन्ट मोटर्सले प्रतिबद्धता जनाएपनि यसको ठूलो परिणाम तत्कालै नेपाल आइहाल्ने अबस्था देखिँदैन । एमजीको ठूलो बजार अष्ट्रेलिया लगायत देशमा नगएर एस५ किन सिधै नेपाल आयो भन्ने विषयलाई नेपाली ईभी पारखीले निकै गहिरोसंग बुझ्नुपर्ने आवश्यकता देखिन्छ । कतै यो ईभीलाई एमजीले नेपाली उपभोक्तामार्फत परीक्षण त गरिरहेको छैन भनेर शंका समेत गर्न सकिने आधारहरु देखिएका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको तयारी चल्दै गर्दा नेपाल भित्रिएको एस५ यदि आगामी जेठ १५ भित्रै हात नपरे हाल कायम भएको मूल्यमा नपाउने पक्कापक्की जस्तै छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ईभीमा कम्तिमा पनि २५ प्रतिशतसम्म कर बृद्धि हुने चर्चा चलेको र स्वयं सरकारी निकायले समेत ईभीको कर परिमार्जन हुने बताएका कारण एस५ लगायत सम्पूर्ण ईभीको मूल्य महंगो पर्ने निश्चितप्राय देखिन्छ । हालको बुकिङ समयमै डेलिभरी नहुँदा र बजेटमार्फत कर बृद्धि हुने हो भने एस५ बुकिङ लिएका ग्राहकले गाडी डेलिभरीको सट्टा यसअघि जेडएस ईभीमा जस्तै बुकिङ वापतको पैसा फिर्ता लिनुपर्ने हुनसक्छ ।
Comments are closed.