नाडाको ५०औँ वार्षिक साधारण सभा पुस ३ गते हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ५०औँ वार्षिक साधारण सभा आगामी पुस ३ गते (डिसेम्बर १८, २०२६) शुक्रबार हुने भएको छ। एशोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको अध्यक्षतामा मंसिर ९ गते बुधबार बसेको ९औँ केन्द्रीय कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो।

नाडाका महासचिव मिलनबाबु मल्लद्वारा जारी सूचना अनुसार साधारण सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिउँसो १ः०० बजेदेखि सुरु हुनेछ। साधारण सभा दुई चरणमा सञ्चालन गरिने कार्यतालिका रहेको छ। दिउँसो १ः०० बजेदेखि सुरु हुने बन्द–सत्र मा एशोसिएशनका पूर्व अध्यक्षबाट समुद्घाटन तथा अध्यक्ष उप्रेतीको सम्बोधन रहनेछ। सोही सत्रमा महासचिव मिलनबाबु मल्लले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पंकज अग्रवालले आर्थिक वर्ष २०८२/८३ को यथार्थ आय–व्यय विवरण तथा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण तथा सदस्यहरूबाट प्राप्त प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने नाडाले जनाएको छ। त्यस्तै, अपराह्न ४ः०० बजेदेखि सुरु हुने खुल्ला–सत्र को प्रमुख अतिथिबाट पानसमा बत्ती बाली समुद्घाटन गरिनेछ।

सो अवसरमा राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्‍याउने ट्राफिक प्रहरीलाई नगदसहित सम्मान–पत्र प्रदान गरिनुका साथै ‘नाडा अटो न्युज लेटर’ को समेत विमोचन गरिने कार्यक्रम तय भएको छ। एशोसिएशनले उक्त वार्षिक साधारण सभामा गरिमामय उपस्थितिका लागि सम्पूर्ण सदस्यलाई अनुरोध गरेको छ।

You might also like

Comments are closed.

Secret Link